/ Uncategorized / अधिकार: आधारशिला र उपलब्धिहरु

अधिकार: आधारशिला र उपलब्धिहरु

Shailesh Shrestha on July 17, 2015 - 5:10 pm in Uncategorized

मैले बारम्बार समुदायमा लेख्ने र बोल्ने गरेको छु, यदि हाम्रो बाक्लो आवादी भएको न्युयोर्क सहरमा तीन वटा अधिकार जस्ता सामाजिक र आर्थिक न्याय, मौलिक हक र आम चेतनाका लागि बोल्ने लेख्ने र विधिसम्मत न्यायिक लडाई लड्ने संगठन हुने हो भने वर्तमान प्रवासी नेपाली समाजको ढांचा र स्वरुपमा व्यापक परिवर्तन आउने थियो |

अधिकारले दस बर्षमा मारेको फड्को फगत चमत्कार या दया अथवा कोहि कसैको अनुकम्पा होइन | एक जना अमेरिकी शिक्षा र समाजबाट शिक्षित दीक्षित लुना रञ्‍जितको परिकल्पना थियो तर त्यो फगत कोरा कल्पना थिएँन| नर्बदा क्षेत्री नामको अर्की अधिकारकर्मी यो अभियानमा जोडिए पछि त्यो परिकल्पनाले यथार्थपरक आधारभुमी र धरातल पायो | दस बर्ष अघि संगठनिक स्वरूपको परिकल्पनामा आजको दृश्यको सम्भाबना लिपिवध्द गरिएको रहेछ | त्यो बर्ष अधिकारले आफ्नो दस बर्षे मिसनमा जे जस्ता सम्भावित उपलब्धिहरुको बुँदागत अभिलेख प्रस्तुत गरेको थियो त्यो दस बर्षमा ठ्याक्कै ति उपलब्धिहरु हाँसिल भएछन | उक्त बूँदागत परिकल्पनाहरुमा आजको स्तरको सांगठनिक आधार, आजकै आकारको आफ्नो कार्यालय भवन अनि अमेरिकाकै प्रसिध्द पत्रिका दी न्युयोर्क टाईम्समा आफ्ना कामहरुको बारेमा बिस्तृत आलेख थियो | हिजो जुलाई १६ तारिख अधिकारकि परिकल्पनाकार तथा वर्तमान कार्यकारी निर्देशकले मसंगको नितान्त अनौपचारिक निजि वार्तामा ति तथ्य र फेहरिस्त प्रस्तुत गरिन |

म सशरीर त्यहाँ पुग्न नसके पनि अथवा अधिकारलाई सघाउन उपलब्ध हुन नसके पनि विचार र भावनामा म सँधै जोडिएको अथवा गाँसिएको हुन्छु | यहि बृहद र व्यापक अर्थमा न्यायपूर्ण, समतामुलक अनि सहभागितामुलक समाजको परिकल्पना गर्ने प्रत्यक मान्छेहरुको साझा चौतारी बनेको छ अधिकार | हिजो म यस्तो बिशेष र गर्विलो दिनमा त्यहाँ पुगेछु जुन दिन सम्पूर्ण अधिकारकर्मीहरु भर्खर मात्र न्युयोर्क राज्यका गभर्नर आड्रीउ क्योमोले हस्ताक्षर गरेको ऐतिहासिक नेल सेलुन बिलको उत्सब गरेर फर्किएका रहेछन | सन २०१० मा अमेरिकामै पहिलो पटक न्युयोर्क राज्यमा पास भएको घरेलु कामदार बिल (डोमेस्टिक वर्कर बिल अफ राईट्स) पनि अधिकारकै अगुवाईमा पास भएको थियो | त्यहि स्वरुपको बिल अहिले अर्को प्रगतिशील राज्य लस एन्जेलसमा पास भएको छ भने अन्य राज्यहरुमा पनि यस्तो मानब अधिकारसंग सम्बन्धित बिधेयकहरु अगाडी बढेका छन| अधिकारको बृहद र व्यापक अन्वेषण र परिचालनमा मात्र यो पछिल्लो बिधेयक पास हुन सम्भब भएको हो |

एक्काईसौं शताब्दीको न्यायिक तथा बैचारिक आन्दोलन अब अठारौं शताब्दीको ढांचा र ढर्राको बिरोधका स्वरुप र स्वरहरुले मात्र सम्भब छैन न कि दक्षिण एशियाको जस्तो ढुंगा मुडा, सडक बन्द-बजार बन्द अथवा टायर बालेर नै सम्भब छ | अमेरिकामै पनि बीसौं शताब्दीको उत्तरार्धमा गर्ने गरिएको जस्तो तथाकथित शक्तिशाली ट्रेड युनियनहरु मार्फत गरिने सालिन तथा सिष्ट प्रदर्शनी अथवा मौशमी “नो जस्टिस नो पिस” को गगनभेदी उडन्ते आन्दोलनले मात्र तल्लो तह र तप्काको आर्थिक तथा सामाजिक न्यायको लडाईलाई बैधानिक अथवा न्यायसंगत जीतमा लिपिबध्द गर्न कठिन हुने गर्दछ | अबको आम युग चेतना संगै बिरोध र मागको स्वरूप पनि बदलिएको छ र अहिलेको अत्याबाश्यक शैली र मार्ग भनेको “लेजिस्लेटिभ एड्भोकेसी” नै हो | अधिकार तथा अन्य थुप्रै न्युयोर्क स्थित अधकारकर्मी संस्थाहरुले अहिले त्यहि सार र स्वरुपको अभियान तथा आन्दोलनहरु अगाडी बढाएको छ |

सन २०१० मा हामी (रेस्टुरेन्ट अपर्च्युनिटिज सेन्टर अफ न्युयोर्क ) ले आरम्भ गरेको “पेड सिक डेज” (सेवामुलक कामका कर्मचारीहरुले पाउने बिरामी बिदा) पनि त्यहि रणनीतिमा आधारित थियो जहाँ क्याम्पेन प्रारम्भ गरिएकै समय न्युयोर्क सहरको ५१ जना मध्य ३३ जना काउन्सिल मेम्बरहरुले उक्त प्रस्तावित बिधेयकको समर्थन गरेका थिए | तत्कालिन धनाढ्य मेयर माईकल ब्लुमबर्ग र तत्कालिन काउन्सिल स्पिकर क्रिस्टिन कुईन्सको निजि स्वार्थ र बिपक्षी गठबन्धनका कारण त्यो बिधेयक पास हुन चार बर्ष र केहि महिना लाग्यो | अन्ततोगत्वा प्रगतिशील तथा उदार मेयर बिल दी ब्लासियो तथा अर्का प्रगतिशील काउन्सिल स्पिकर मलिसा मार्क भिबरित्तोको उदात्त चाहना र ४५ जना काउन्सिल मेम्बरहरुको प्रचण्ड बहुमत, साथ र समर्थनले यो बिधेयक सन २०१४ देखि कानुनमा परिणत भयो |

विकासोन्मुख तथा अविकसित मुलुकले दायित्व अथवा दवाबका कारण बिल पास गर्छ अनि कानुन बनाउँछ तर संस्थापन अथवा राज्य या राष्ट्रलाई कार्यान्वयन गर्ने र गराउनु पर्ने दायित्व बोध हुँदैन तर बिकसित राष्ट्र सशक्त आमसंचारका कारण बनेको मौजुदा कानुनलाई लागु गर्न गराउन लागि पर्दछ | त्यसको उदाहरण हामी न्युयोर्क सहरको रेलमार्ग, सबवे, सार्वजनिक स्थलहरुमा त्यस बारे लेखिएका सुचना, सूचांक र जानकारीहरु देख्ने गर्दछौं | आफुले काम गरेको रेस्टुरेन्ट, क्याफे तथा अन्य सेवामुलक काममा पूर्णकालिक कामदारको हैसियतमा तपाईले पाउने पांच दिन बिरामी बिदा पाउनु भएको छैन भने तपाईले ३११ मा फोन गरेर जानकारी अथवा उजुरी गर्न सक्नुहुन्छ ति सुचनाहरुले त्यसका लागि प्रोत्साहन गरिरहेको हुन्छ |

नेल सैलुन बिल पास हुने चर्चा चल्न थालेपछि यो बिलको विपक्षमा केहि झिना मसिना बेतुकका बिरोधका स्वरहरु नेपाली प्रवासी समाजमा सुनिन थालेका छन, उनीहरुको (कु) तर्क छ यो बिल पास भयो भने धेरै ब्यबसायिक लाईसेन्स नभएका कामदारहरुको काम र कमाई जोखिममा पर्छ र केहि नेल सैलुनका नेपाली मालिकहरुले त यतिसम्म भन्न भ्याएछन “हामी सानो तिनो स्केलको व्यापार गर्नेले राज्यले तोकेको तलब र मापदण्ड कसरी पुरा गर्न सक्छौं ?

मालिक मित्रहरु तपाईहरु उताकै पारा र ढर्राले कसरी हप्ताको यति डलर भनेर खामबन्दी दिएर यहाँको श्रम र शिपलाई कज्याउने दुस्साहस गर्नु हुन्छ ? राज्यले तोकेको न्युनतम ८ डलर ७५ सेन्ट प्रति घण्टा दिनु तपाईहरुको बाध्यकारी दायित्व हो भन्ने जानेर कसरी बुझ पचाउनु हुन्छ ? दण्डहिनताको बिरुध्दमा अनि आर्थिक र सामाजिक न्यायको पक्षमा मंचमा खदा र मालाले पुरिंदै उच्च आसनमा आसिन भएर “लेक्चर” छाट्ने तपाईको राज्यले तोकेको न्युनतम तलबमान दिनु पर्दा चाँही किन दांतबाट पसिना आउँछ ?

डोमेस्टिक वर्कर्स बिल अफ राईट्स, टीपीएस, भाषिक आन्दोलन अभियान अनि नेल सैलुन बिलमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाली भाषीहरुको गर्विलो संस्था अधिकारलाई मनभरिको सम्मान अनि सलाम !

Comments

comments

Send Us A Message Here

Your email address will not be published. Required fields are marked *