/ विचार-विश्लेषण / म दंग छु, मेरो गाँउले छलाङ्ग मारेछ -शैलेश श्रेष्ठ, न्युयोर्क

म दंग छु, मेरो गाँउले छलाङ्ग मारेछ -शैलेश श्रेष्ठ, न्युयोर्क

Shailesh Shrestha on January 4, 2015 - 8:58 pm in विचार-विश्लेषण

अहिले यो संसारमा दुई खाले मान्छे र प्रबृत्ति सतहमा देखिएको छ, एउटा धमाकेदार गफ छाँट्ने तर सिन्को नभाच्ने अथवा माखो नमार्ने अनि अर्को थरि चाँही गुपचुप अनि चुपचाप काम मात्र गर्ने प्रचार र स्तुति नचाहने|

सन २००३ मा असाध्य असल नियत र अभिष्टले आरम्भ भएको अन्तराष्ट्रिय संजाल गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रचारमुखी प्रबृत्तिको संगठित सुरुवात गर्यो| मातृभुमीलाई संगठित हैसियतमा लाखको लगानी नगरेनी तिनका तथाकथित दानी ठुला-ठालुको थुतुनोमा अरब घटीको कुरो कहिले भएन तर यथार्थमा तिनले पनि परदेशबाट ग्लोबल कन्फेरेन्स गर्ने नाममा मुलुक फर्कंदा बर्षेनी भोजभतेरको नाममा गरिब नेपालीले तिरेको करबाट पाँच तारे होटलमा भोज भतेर गरिरहे|

अहिले शेष घलेको पालोबाट यो देश दोहनको क्रम रोकिएको छ र खास अर्थमा वैयक्तिक या केहि सामुहिक र संगठित लगानीको कमसेकम प्रारम्भ भएको छ| परदेशको बसाई जो जसरी जहाँ बसे पनि अस्थायी डेरा भन्दा केहि होइन रहेछ अस्ति कागजपत्र छान्ने, फाईल मिलाउने र छिम्कने क्रममा सिध्देश्वर मा.बि. पुनर्निर्माणमा उत्तर अमेरिकाबाट आफ्नो श्रमको अलिकति हिस्सा काटेर आफुले क, ख, ग अनि ए, बी, सी पढेको आफ्नो स्कुललाई सहयोग रकम पठाएकाहरुको लिस्ट पाएँ अनि जतनले नयाँ फाईलमा सुरक्षित राखें|

त्यहि हप्ता यो स्तुत्य काममा प्रारम्भ देखि खटेका मित्र भाई रोशनको भाईवर सन्देश पनि पाएँ उनले निरन्तर नथाकिकन त्यहाँ भए गरेका काम र प्रगतिको फेहरिस्त लेखिरहन्छन| अहिले हाम्रो गाँउकाहरुले काठमाडौँमा संचालन गरेको दावांली मिलन केन्द्र राष्ट्रकै परोपकारी नमुना संगठनकारुपमा बिकसित भईरहेको छ| काम गर्ने यी कर्मबीरहरुलाई न कहीं कतै जात, वर्ण, लिङ्ग, भूगोलले  छेकेको छ न त यो सत्कर्मलाई कहीं कतै कसैले वर्जित  गरेको छ|  हामी पनि गर्न सक्छौं भन्ने एउटा उदाहरण र नमुना हो सम्पूर्ण नेपालकै सन्दर्भमा यो परोपकारी संस्था|

त्यस पछिका सत्कर्महरुमा हामीले खास केहि सहयोग गर्न सकेका छैनौं तथापी सहयोगी हात र साथहरु संसारभरीबाट निरन्तर मैले पढेको स्कुल र जन्म थलो दांवामा पुगिरहेका छन्| टाढा बसेर आफ्नो थातथलोका लागि सिन्को भाँच्न नसकेनी भए गरेका असल कामका लागि कर्मबीरहरुलाई “क्या बात” र मुखैले मात्र भएपनि “लु हामी नि छौं है”  भन्ने नैसर्गिक हक चाँही हामीसंग सधैं हुँदोरैछ| अहिले म मेरो नोस्टाल्जियामा त्यहि अनुभूति रमाईरहेको छु|

मैले आफ्नो स्कुले तन्नेरी उमेरमा दुइटै मात्र खेल खेल्न जानें एउटा भलिबल अनि अर्को त्रिपाषा| आज ति दिनहरु सम्झंदा अचम्म लाग्छ मैले आफ्नो उमेरवर्गले खेल्ने डण्डीबियो र गुच्छा नखेलेर किन मामा, काका, ठुलोबा र हजुरबा उमेरकाहरुसंग त्रिपाषा खेल्न रुचाएं?

सिध्देश्वर मा.बि. को त्यो डाँडाको चौर यानेकि हाम्रो भलिबल कोर्टबाट त्यो बल ओरालो लागेपछि कहिले काँही त इलाचा साहुको दोकान तलको बाँस झ्याङ्गसम्म पुगेर हिलाम्मे भएर फर्कन्थ्यो| कहिले काँही झ्याङ्ग र पोथ्राहरुमा बल लामो समय लापत्ता हुन्थ्यो अनि बल्ल तल्ल तातेको सिन्के शरीरलाई सिरेटोले पुनः बरफ बनाउथ्यो| सहयोगी भाई भारदारहरु माथिबाट बल खस्छ र दाईहरुलाई पुर्याईदिनु पर्छ भनेर बाटोको छेउ र कान्लाहरुमा बसेका हुन्थे| तर परोक्षरुपमा ति भाईहरुकालागि त्यो क्षण दाईहरुको नजरमा पर्ने र सिक्ने अवसर पनि हुन्थ्यो|

मेरा अग्रज सिलोन दाई, तारा दाई, रामेश्वर दाईहरु खेल्दा म पनि त्यसरी नै तल बसेर बल समातेर दगुर्दै डांडासम्म बल ल्याईदिन्थें| दाईहरुको प्यारो बनेपछि मात्र खेल्न पाईने सम्भावना झिनैरुपमा भएपनि रहन्थ्यो| बलसंगको त्यस्तो लुकामारी र अभाबमा पनि हाम्रो सिध्देस्वर मा.बि. को भलिबल टिम भोजपुरमा भरिको  उम्दा थियो| त्यो एकाधिकार र अधिपत्य लामो कालखण्डसम्म रह्यो|

अबको दुई बर्ष भित्र हाम्रो गाउँमा सम्पूर्ण भौतिक सुविधायुक्त कृष्णलक्ष्मी रंगशालाको निर्माण पुरा हुनेछ| समय र उमेर (?) ले साथ दियो भने हामी निश्चिन्त भएर “सर्ट” (उहिलेको हाम्रो भाषामा) हान्ने छौं| त्यस बखत बल समात्न हामीलाई हाम्रा भाईहरु चाहिने छैनन् मात्र यथेष्ठ ईच्छाशक्ति र बलिष्ठ अभिलाषा मन भरि पाल्नु पर्नेछ| स्टामिना बढाउनु पर्यो या बोसो घटाउनु पर्यो भने त्यहि भित्र “जिमखाना” पनि हुनेछ|

अस्ति टेक्सासबाट सिलोन दाईले फोन गर्नु भो, मैले उहाँलाई दावाको त्यहि भलिबल कोर्टमा पो देखें| भर्खर जापानबाट तारा दाईले लेख्नु भएछ “शैलेश अब हामी दावा जानुपर्छ|” कसले पो भन्छ र आफ्नो मातृभूमी र जन्मथलो जान्न भनेर तर हामी परदेशिएकाहरु कति स्वाधीन छौं आत्मनिर्णयको अधिकार लिन? हामीले भोगीरहेको आम अनि अहम प्रश्न त्यहि हो| म अहिले यो पराधीन परदेशमा अनिर्णयको आम बन्दी बन्दै तिनै पुर्व दृश्यहरुमा थप नोस्टाल्जिक भएर रमाई रहेको छु|

आफुलाई मनपर्ने र आफुले खेल्न जानेको एउटै मात्र खेल भलिवल अमेरिकामा पनि निरन्तर खेल्ने गरेको थिएँ तर बिगत दुई बर्ष देखि उमेर (?) का कारणले होइन समय मिलाउन नसकेको कारण निरन्तरता दिन सकेको छुइनl अब आफ्नो गाउँको कृष्णलक्ष्मी रंगशालामा खेल्न कै लागि भएपनि यो ज्यानलाई “फिट” राख्नु पर्ने चुनौती चाँही महसुस गरेको छु|

अहिले म यो क्षण उदात्त, उन्मुक्त र उच्छन्द मनको उची उडान भरि रहेको छु अनि दंग छु मेरो गाँउले छलाङ्ग मारेछ|

Comments

comments

Comments are closed.