/ विचार-विश्लेषण / प्रचलित व्यक्ति पुजा प्रबृत्ति र दास-मनोबिज्ञान – हरि अधिकारी, भर्जिनिया, अमेरिका

प्रचलित व्यक्ति पुजा प्रबृत्ति र दास-मनोबिज्ञान – हरि अधिकारी, भर्जिनिया, अमेरिका

Shailesh Shrestha on September 23, 2018 - 2:39 pm in विचार-विश्लेषण

आफ्नो पार्टीका नेता, आफूलाई मन परेका कलाकार-साहित्यकार, आफूले पछ्याएको साधु बाबा आदिलाई ठूल्ठूला विशेषण, उपशर्ग लगाएर उसको विशिष्ठताको प्राणप्रतिष्ठा गर्ने चलन व्याप्त छ पृथ्वीको यस भेग अथवा दक्षिण एसियाली उपमहाद्विपमा । आफूलाई मन परेको व्यक्तिलाई ठूलो देखाउन खोज्ने यो प्रवृत्तिका पछाडि कुन मनोविज्ञानले काम गरिरहेको हुन्छ भन्ने विषयमा त्यति खोजवीन भएको जस्तो लाग्दैन । सायद मानिसहरू आफूलाई मन परेको पात्रलाई महान् बनाएर सम्बन्धित पात्रको महानतासँग कुनै न कुनै रूपमा आफू पनि जोडिएको कुरो प्रमाणित गर्ने प्रयत्न गरिरहेका हुन्छन् ।

Hari Adhikari dai
तस्विर: बिमल नेपाल, बिमल फोटोडटकम

सरकारी बाहेक सामान्यत: यस्ता मानार्थ विशेषण र उपशर्गहरू सञ्चार माध्यमहरू वा भाषण विज्ञप्ति आदिका माध्यमबाट कसैलाई कसैद्वारा प्रदान गरिने र तिनको कुनै भौतिक मूल्य नहुने हुनाले ती निरापद हुन्छन् । तिनले आम मान्यता पाउनु नपाउनु चाहिँ बेग्लै छलफलको विषय हुन सक्छ । तर त्यस्ता विशेषण, मान पदवी वा उपाधि सार्‍है अमिल्दा, केही हदसम्म हास्यास्पद समेत देखिए भने चाहिँ सहज विवेकको दुनियाँमा त्यो अपाच्य हुने रहेछ ।

प्रसंग छ- नेपाली कांग्रेसका स्वर्गीय सभापति र हालको संविधान जारी हुने बेलामा देशको प्रधानमन्त्री रहेका सुशील कोइरालालाई उनका केही अनन्य भक्तहरूले गुताइदिएको संविधानका पिता भन्ने पगरीको । सुशीलको शिरमा यो गर्‍हुँगो पगरी पटक्कै सुहाउँदैन, त्यसैले यो हास्यास्पद लाग्छ । संविधानको घोषणा हुने बेलामा प्रधानमन्त्रीको कुर्सीमा बसेका व्यक्तिका रूपमा उनले अनिवार्य गर्नु पर्ने औपचारिक काम पूरा गरेको बाहेक यो संविधानको गर्भाधान, भ्रूण-विकास र जन्मसम्मको पीडादायी अभ्यासमा देशमा मौजूद शीर्ष नेताहरूमध्येमा सबैभन्दा कम सक्रिय नेता हुन् सुशील कोइराला । यिनी यस देशमा देखिएका ठूला नेताहरूमा सबैभन्दा बोधो थिए । संसद सदस्यका रूपमा पनि सबैभन्दा अल्छी यिनै थिए । यिनले संसदमा बोलेको कहिल्यै सुनिएन ।

संविधान निर्माण क्रममा भएका कठिन मोलतोलका कष्टदायी अभ्यासमा पनि सुशील अभिन्न किसिमले सामेल भएका थिएनन् । उनलाई संविधानका पिता भन्ने गर्विलो उपाधि दिन मिल्ने किसिमको योगदान त उनको बिलकुलै थिएन । नेपाली कांग्रेसले देशको प्रमुख राजनीतिक शक्तिका रूपमा दृढताका साथ लागिपरेर संविधानलाई मूर्त रूप दिएको हो । त्यसैले पार्टी समग्रलाई यसको अभिभावकत्व दिन सकिन्छ तर सुशील कोइरालालाई होइन ।

संविधान जारी हुने अन्तिम दिनहरूमा मञ्चित हाइभोल्टेज ड्रामाका पात्रहरूलाई सम्झना हुनु पर्दछ – सुशील कोइराला अन्त्यमा आएर संविधान घोषणा गर्ने मुहूर्त केही दिन पर सार्न तयार भइसकेका थिए । उनले शेरबहादुर देउवा र प्रचण्डलाई आफू अमेरिकाबाट स्वास्थ्य परीक्षण गराएर फर्केपछि घोषणा गर्दा फरक पर्दैन भनेर आश्वस्त पार्न खोजेका थिए । मधेसी नेताहरूको पनि माग त्यही थियो । तर निर्धारित तिथि असोज ३ गतेका दिन संविधान जारी भएन भने संविधानसभाद्वारा कहिल्यै पनि जारी हुन नसक्ने कटु वास्तविकता बुझेका देउवा र प्रचण्ड घोषणा मितितिथि पर सार्न तयार भएनन् । यस खास मुद्दामा केपी ओली पनि देउवा र प्रचण्डसँगै थिए ।

सुशील कोइरालाका हकमा मात्र भारीभरकम उपाधिको दुरुपयोग गरिएको भने होइन । अरू पनि धेरै छन् । मदन भण्डारीलाई जननेता भन्छन् उनको दलका कार्यकर्ताहरू । जसको सारा जीवन सर्वजनबाट लुकेर बितेको छ, देशको लोकतान्त्रिक आन्दोलनको लामो इतिहासमा जो कहीँ पनि देखिंदैन, जसको खुल्ला राजनीति जम्माजम्मी ४/५ वर्षको छ उ कसरी जननेता ? अफ्नो पार्टीलाई जनताको बहुदलीय जनवाद भन्ने नयाँ राजनीतिक मार्गचित्र देखाउने ठूला एमाले नेता भने हुन् मदन भण्डारी ।

कांग्रेसहरू वीपी कोइरालालाई महामानव भन्छन् । वीपी अब्बल दर्जाका प्रतिभाशाली, प्रष्ट राजनीतिक दृष्टिकोण भएका, क्षमतावान् र कलात्मक रुचिसम्पन्न राजनेता हुन् । सम्भवत: यस युगका नेपालीहरूमध्ये श्रेष्ठतम् पनि हुन् उनी । तर महामानव होइनन् । उनी पनि हरेक मानिस जस्तै मानवीय कमजोरीहरूका पुतला नै थिए । उनले आफ्नो संघर्षमय राजनीतिक जीवन-यात्राका क्रममा धेरै गल्ती गरेका थिए । ती मध्ये सबैभन्दा भयानक गल्ती थियो नेपाली कांग्रेसको राजनीतिको केन्द्रमा अनुज गिरिजाप्रसाद कोइरालालाई स्थापित गरिदिनु । भावुकतापूर्ण क्रान्तिकारी हतारोमा हुट्हुटिएर गिरिजाले जुन आत्महन्ता ओखलढुङ्गा काण्ड रचाएका थिए त्यसमा सहमत हुनु अथवा त्यो सांघातिक अभियानलाई रोक्न नसक्नु वीपीको महाभूल थियो ।

माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि, नारायणगोपाललाई स्वर-सम्राट, भक्तराज आचार्यलाई भजन-शिरोमणि, सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुष, ध्रुवचन्द्र गौतमलाई आख्यान-पुरुष, ज्ञानु वाकर पौडेललाई गजल साम्राट, यी हाम्रो समाजमा अहिले चलनमा रहेका केही उपाधिहरू हुन् तर देखिन्छन् सबै नै कुनै फन्टूसले लहडमा दिएजस्ता । न पाउने व्यक्तिले उपाधिको ओजन बोक्नुपर्ने न त उसले पाएको कुराको औचित्य नै सावित गर्न आवश्यक । अनेक जालझेल गरेर पारिवारिक गुठी जस्तो संस्था चलाइरहेको एक जना शर्मपाचकीलाई आधुनिक मोतीराम भट्ट भनेको पनि सुनियो ।
(यो आलेख लेखक तथा समालोचक हरि अधिकारीको फेसबुकबाट साभार गरिएको हो- सम्प्रेषण ब्लग)

Comments

comments

Comments are closed.