१४ बैशाख २०८१, शुक्रबार ३:३० | 04/26/2024 5:45 PM



एनआरएनएलाई अहिले एक जना ईमानदार सुधारक चाहिएको छ – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

२४ आश्विन २०७६, शुक्रबार २२:५० मा प्रकाशित

आखिर हरेक मानिसको आधरभूत सामाजिक दायित्व भनेको सत्य-तथ्य र तुलनात्मक राम्रो पक्षमा वकालत गर्दै न्यायिक समाज र राष्ट्रको लागि आवश्यक अभिमत सिर्जना गर्नु हो । अझ सचेत र स्वाधीन नागरिकहरुको हकमा त त्यो निर्वाह गरिनै पर्ने “सिभिक ड्युटी” पनि हो । प्रामाणिक कुराहरुको सापेक्ष सम्प्रेषण गर्दा कमसेकम मैले आफ्नो सामान्य नागरिक दायित्वसम्म निर्वाह गरें भनरे म खुसी हुन्छु तर के के न गरें भन्ने चाँही कुनै कोणबाट पनि लाग्दैन आखिर हामीले देखेको र लागेको कुरा साहासका साथ लेख्ने र बोल्ने समाजको सिर्जना गर्ने हो । पारदर्शी संगठन र समाज तुलनात्मकरुपमा न्यायपूर्ण हुने गर्दछ । “आ बोलेर, लेखेर केही हुँदैन भन्दै पुरातनिक लाचारी, निराशा अनि कुण्ठा बोल्दै देशदेखि प्रवासससम्म निरन्तर मौलाएको दण्डहिनता र यथास्थितिबाद समक्ष लम्पसार परेर आत्मसमर्पण गर्नेहरुसंग मेरो अराजक बिमति छ । एक्लै भएपनि कैयन बिषयहरुमा ईमानदार बिमति बोल्दाको परिणाम मैले नजिकबाट महसुस गरेको छु ।
Thumbnail for 783

हामी प्रवासमा छौं त्यस अर्थमा भावनाको नेपालमा फैलिएका हामी सत्तरी लाख एनआरएनसंग जोडिएका बिषय र सन्दर्भहरु हाम्रा उपल्ला सरोकारका बिषयहरु हुन । अन्य बर्षहरुमा झैं यो बर्ष पनि काठमाडौँ बिश्व सम्मेलनको नाममा हुने “कुम्भमेला” को तयारी, तामझाम र खर्चिलो तडकभडक सुरु भईसकेको छ । नेपाली माउ पार्टीको दलगत राजनैतिक महामारीको अभिष्ट बोकेका भात्रीसंगठनमार्का अराजक राजनैतिक जत्था र लामो समयदेखि परपरागत शैली र रणनीतिमा सजिलै शक्ति हातमा लिन सक्षम भएका पुरातनिक “सिन्डीकेट” शालीन समुह एनआरएनए बिश्व सम्मेलन अर्थात् कुरूक्षेत्रमा आ-आफ्ना दलबल सहित पुगिसकेका छन । अब यस बेला हरेक कुम्भमेलामा जस्तै एउटा अनुत्तरित तर यक्ष प्रश्न हाम्रो सामु आउने गर्दछ, उसो भए बाँकी अर्थात् ठुलो समुह र संख्यामा रहेका मध्यम तथा कामदार वर्गीय बहुमत आम एनआरएन लाई प्रतिनिधित्व चाँही कसले गर्दछ त? यसको सापेक्ष जवाफ म संग पनि छैन तर खोज्ने र खोजिने चरणको आरम्भ भने भएको मैले महसुस गरेको छु ।

अब कुनै खाले क्रान्तिको सुनामी आएर “फूमन्तर” होला भनेर म आशा गर्न सक्दिन | अब हामीलाई आमूल परिवर्तन र क्रान्तिको कुरा गर्ने होइन यही पध्दती भित्र बसेर रहेर समयसापेक्ष सुधार गर्ने ताकत भएका ईमान्दार, कर्तब्यनिष्ट र बुध्दी भएको नेता चाहिन्छ । बुध्दी हुनु भनेको मेरो परिभाषामा बिद्यालय महाबिद्यालयहरुमा उच्च शिक्षा हाँसिल गरेका, बिद्यावारिधी गरेकाहरु मात्र होइनन बरु उपल्लो “जजमेन्ट” र “विसडम” भएका व्यक्तित्वहरु हुन । वर्तमान बनिबनाउ पद्दतीलाई नै समयानोचित परिमार्जित र पुनार्भाषित गर्दै यो संस्थालाई राम्रो बनाउन सकिन्छ । अहिले त डेलिगेट्स छान्नेदेखि नेता चुन्नेसम्म मात्र होइन सदस्यता दिने र लिईने तौर-तरिकानै समाबेशी, समयसापेक्ष र न्यायसंगत छैन ।

पध्दती भनेको मानिसको चेतना जस्तै चलायमान अनि गतिशील हुनुपर्दछ । दुनियाले “रेप्लिकेट” गर्ने गरेको त्यही बेलायती “वेस्ट मिनिस्टर” पध्दतीमा एक जना बोरिस जोन्सन जन्मियो भने दुनियाले आहा भन्ने अमेरिकी प्रजातान्त्रिक पध्दती भित्रै पनि डोनाल्ड जे. ट्रम्प जस्ता एकाधिकारबादीको दु:खद अभ्युदय भयो । हरेक खाले पुरातन र यथास्थितिबादको खुलेआम पक्षपोषण गर्ने वर्तमान एनआरएनए पध्दतीलाई “पुजा” गररे राख्नु पर्छ भन्ने तर्कले अब काम गर्दैन । पछिल्लो कालखण्डमा अध्यक्षका उम्मेदवार कुमार पन्त, महासचिबका आकांक्षी डा. हेमराज शर्मा र उपाध्यक्षका उम्मेदवार मन केसी संरचनागतरुप मै यो संस्थाको आमूल परिवर्तनको पक्षमा देखिएका छन ।

संस्थापक अध्यक्ष तथा अभियन्ता उपेन्द्र महतोले “भावनामा चल्ने अभियान” भन्ने गरेका र अर्का पुर्व अध्यक्ष शेष घलेले चाँही “अभियान मात्र होइन चलायमान संस्थाकारुपमा स्थापित गरिनुपर्छ” भनेर भन्ने गरेका छ्न । अझ एक स्तर माथि उठेर पुर्व अध्यक्ष घलेले त यो संस्थालाई संयुक्त राष्ट्र संघ जस्तो बनाउन चाहेको कुरा “भिजन २०२० एण्ड बियोन्ड” प्रस्तावनामै उल्लेख गरेका थिए । तर हाम्रो गृह राज्य न्युजर्सीमा सम्पन्न भएको उक्त क्षेत्रिय सम्मेलनमा यसको ब्याख्या गर्नुको साटो “भात-काण्ड” मा गएर पटाक्षप भएको थियो । यो हाम्रो संस्थालाई राजनैतिक किसिमले “कब्जा” गर्ने नियतले यो क्षण आम एनआरएन भन्दा पनि भात्री संगठनका कार्यकर्ता आ-आफ्ना प्रवास स्थित भात्री संगठनहरु मार्फत क्रियाशील भएको अवस्था छ । त्यस्तो डरलाग्दो महामारी संयुक्त राज्य अमेरिकाबाट जापान, पोर्चुगल, क्यानाडा, अस्ट्रेलिया हुँदै “वेस्ट-मिनिस्टर” शैलीको लोकतन्त्रकै जननी बिलायत पुग्दा “बुथ कब्जा” र “मतदान स्थगित” सम्मको अभ्यासमा रुपान्तरित भयो ।
अब हामी आम एनआरएन र बिशेष गरेर संचार जगतले ईमान र नैतिकता दाउमा राखेर जुवा जितेको उद्घोष गर्ने बेईमान जुवाडेहरुको “जिताउरी” र हरेक खाले “टोकन अफ लभ” मा रमाउन छाडेर समयसापेक्ष संस्थागत परिवर्तनका ब्यबहारिक मुद्दाहरुलाई बृहत्तर किसिमले उठान गर्ने साहस गर्नु पर्दछ । लागेको, देखेको र भोगेको सत्य र यथार्थ बोल्न र लेख्न सके बाँकी युध्द जितिन्छ ।