/ समाज र सिर्जना / एउटा सहरको कथा – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

एउटा सहरको कथा – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

Shailesh Shrestha on November 12, 2019 - 11:01 pm in समाज र सिर्जना

सुरु सुरुका दिनहरुमा अमेरिकाको ट्रेन स्टेशन तिर आक्कलझुक्कल माग्ने देख्दा अचम्म लाग्थ्यो । मनले भन्थ्यो “हैट, अमेरिकामा पनि माग्ने!” बिस्तारै बिस्तारै थाहा भयो उनीहरुले आफुलाई “होमलेस” भन्दा रहेछन। रहँदै बस्दै जाँदा त्यस्ता होमलेस मात्र होइन उनीहरुका अद्भुत नाटकहरु ट्रेन स्टेशन तिर नि:शुल्क हेर्न थालियो । मलाई सबभन्दा अचम्म चाँही त्यती बेला लाग्दथ्यो जब न्युयोर्क र लसएन्जेलस जस्ता ठुला सहरहरुमा देशका लागि लडाईं लडेका “वार भेटेरान” हरु एक गाँस पिजा र एकछाक बर्गरका लागि अनुनय बिनय गरिरहेका देखिन्थे ।
Shailesh Profile Picture New Oneउनीहरु आफ्नो आधिकारिकता पुष्टी गर्न आफ्नो भेटेरान परिचय-पत्र देखाउँदै एक पेटको लागि याचना गर्ने गर्दथे भने अमेरिका सरकार सैनिक खर्चमा बढोत्तरी गरेको स-गर्व घोषणा गर्दथ्यो । पछि लसएन्जेलसको समुद्रीतटमा घुम्न जाँदा देखियो त्यहाँ त उनीहरुको साम्राज्यनै रहेछ । राज्यद्वारा पूर्णरुपमा आरक्षित रहेछन । मैले अझै एकिन गरेर बुझ्न सकेको छैन “होमलेसनेस” अमेरिकाको दुरुहता हो कि उनीहरुको प्रबृत्तिले सिर्जित अवस्था?

आम नागरिकले तिरेको ट्याक्सबाट उनीहरुका लागि सुविधायुक्त सेल्टरहरु सहर र राज्यहरुले बनाई दिएका छन तर सरकारले खटाएर दिएकोमा बाँच्नु भन्दा उनीहरु आफ्नो कला या जुक्ति प्रदर्शनी गरेर मागेर खानुमा स्वायत्त भएको ठान्दछन । सायद अमेरिकी पुजीबादले सिकाएको आत्मनिर्भरता या उद्यमशिलता पो हो कि?

आज साँझ गरिखान सक्ने उमेर र शारीरिक अवस्था भएका एकजना मगन्ते हरेक बहाना र जुक्ति निकालेर एक पेट खाद्यान्नको मानवीय याचना गरिरहेका थिए । उ भन्दै थियो “तपाईहरुले मेरो बानी व्यहोराको प्रसंशा गर्नु पर्दछ किनकी मैले तपाईहरुलाई अपशब्द बोलेर लुट्ने, ठग्ने या गाली गर्ने काम गरेको छैन”, “मैले ठुलो कुरो के नै पो मागेको छु र, एक डलर पाए गेटरे (ईनर्जी ड्रिंक्स), चार पाँच डलरसम्म जम्मा गर्न सके एउटा सानो स्यान्डविच, कोही दयालु दाताको कृपा भयो भने मज्जाको बर्गर खाएर भरिपेटले आजको रात निदाउने छु, के गरिब हुनु अपराध हो र?” ।

ट्रेन भित्रका यात्रुहरुलाई कन्भिन्स गर्न उ हरेक जुक्ति र तर्क गरिरहेको थियो | उनलाई उनको आफ्नै उमेर र पोशाकहरुले धोका दिईरहेको थियो । उ जे फलाक्दै थियो अथवा अभिनय गर्दै थियो उनी खासमा त्यस्तै हो भनेर बिश्वास गर्न कोही तयार थिएनन | यस्ता नाटकका बनिबनाउ अलौकिक दृश्यहरु हेर्दा हेर्दा न्युयोर्कका बटुवा र राईडरहरु अभ्यस्त मात्र होइन एकहदसम्म निर्दयीनै भईसकेका हुन्छन । हुन पनि दयालु मन हुनेहरुको वालेटनै रित्तिने सम्भावना हुन्छ ।

उ करिव उस्तै र त्यस्तै डायलगहरु निरन्तर भट्याईरहेको थियो | ट्रेन भित्र तीन चार चक्कर गर्दा पनि कहीं कतैबाट एक पेनी झरेन । मेरो दायाँ तिर बसेकी एउटा सानी नानी अचम्भित भएर त्यो दृश्य निरन्तर हेरीरहेकी थिई । केही क्षेणको हेराईपछि उनले आफ्नो बाबालाई कुईनाले ठेल्दै भनि “बाबा, गिभ मे टु डलर!” उनका बाबाले सानो स्वरमा भन्यो “आई डोन्ट ह्याब बेबी” । म नसुनेको जस्तो गरेर उनीहरुको कुरो सुनिरहेको थिएँ | उनी अलि चर्कै स्वरमा भन्दै थिई “आई नो, यु ह्याब बाबा” पर दायाँपट्टि बसेकी उनकी आमा अप्ठेरो मानेर बाउ-छोरीको वार्तालाप सुनिरहेकी थिईन । मैले नहेरे जस्तो गरेर त्यो नानीलाई हेरें, उनको आँखाहरु रसाएका थिए । मेरो झर्ने ठाउँ आईपुग्यो म ट्रेनबाट बाहिरिएँ ।

बस चढेर हड्सन नदी पार गर्दैगर्दा मैले त्यो गहिरो साँझको सन्नाटामा एक गाँस र एक पेटको याचना गर्ने तन्नेरीहोमलेस पात्र होइन त्यो नानीको मानवीय सम्बेदनाले रसाएका आँखाहरु मात्र होइन लपक्क भिजेका परेलीहरु पनि देखें । घर आई पुगेपछि विस्मित मनको अन्तरकुन्तरमा एक खाले द्वन्द सिर्जना भयो । के उनका बाबा परिस्थितिजन्य अवस्थाले सिर्जित गरे जस्तो अथवा ट्रेन भरिका आम हामी जस्तै दुई डलर पनि फुत्त निकालेर दिन नसक्ने निर्दयी नै थिए त? ति अबोध नानीहरुको दुई डलरको दयाले गरिखान सक्ने उमेर र अवस्थाका मगन्तेहरुलाई थप दृश्यहरु लिएर मगन्ते नाटकमा निरन्तर सामेल हुन अभिप्रेरणा त दिदैन?

“होमलेसनेस” अमेरिकाको आर्थिक दुरुहताले सिर्जित बाध्यात्मक परिस्थिति हो कि उनीहरुको आफ्नै रुचि र प्रबृत्तिले सिर्जित मानवीय समस्या हो? यो कथा मैले दशकौं हेरेर, घुमेर अनि बाँचेर कहिल्यै नअघाएको मेरो श्रमको सँधै उच्च सम्मान गर्ने निर्दयी भनेर जानिने न्युयोर्क सहर कथा हो । हड्सनवारीबाटै झिलिमिली देखिने यो उन्मादी तामसी सहर अझ रात छिप्पिदै गर्दा निस्कपट निस्सार अन्धकार मात्र होइन अनुत्तरित पनि छ किनकी यो सहरको कथा हो ।

Comments

comments

Comments are closed.