/ Uncategorized / म यसकारण लेख्छु – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

म यसकारण लेख्छु – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

Shailesh Shrestha on December 8, 2019 - 11:59 pm in Uncategorized, विचार-विश्लेषण

Shailesh photo by Bimal Nepal for cover page
तस्विर: बिमल नेपाल, बिमल फोटो स्टुडियो

मेरो लेखनको अभिष्ट र मक्सद भनेको सामुदायिक स-शक्तिकरण अनि आम सचेतनाको सम्बाहन हो । सत्यतथ्य साहासका साथ बोल्ने र लेख्ने समाज हामीले निर्माण गर्न सक्यौं भने त्यस्तो समाज तुलनात्मकरुपमा उदार अनि प्रगतिशील हुने गर्दछ । त्यस अर्थमा म देखिने अनि लेखिने पारदर्शी समाजको पक्षमा छु ।

चारित्रिकरुपमा हामी नेपालीहरु कसैलाई पनि भनि नबिझाउने प्रबृत्ति र चरित्रका छौँ बरु अन्याय सहन्छौँ तर न्यायिक निरुपणका लागि एक कदम अगाडी बढ्ने औकात र ताकत राख्दैनौं बरु थिचिएर, मिचिएर, हेपिएर अनि दबियर “आ होस् दैबको इच्छानै यस्तै रहेछ!”, “केही नहुने भो यो सतीले सरापेको देशमा”, “आ लेखेर बोलेर केही हुँदैन”, “मलाई त बर्बाद गर्यो गर्यो त्यो पापीको पनि भलो चाँही हुँदैन भगवानले हेरिरहनु भएको छ” आदी ईत्यादी भन्दै परम्पराबादी उदारता र क्षमाशिलता” को सौम्य प्रदर्शन गर्दछौं । मेरो बिचारमा हामी नपालीहरु नचाहिने ठाउँ र अवस्थाहरुमा हाम्रो “क्षमाशिलता” को निम्छरो लाचारीपल प्रदर्शन गर्दछौं त्यही हाम्रो लाचारीपनका कारण देशमा जस्तै प्रवासमा पनि उही खाले ठगी, तस्करी, जालसाँची र दण्डहिनता निरन्तर मौलाएको छ ।

म आफुले साहासका साथ उठान गरेका हरेक सामाजिक, राजनैतिक, साँस्कृतिक र धार्मिक मुद्दाहरु सामाजिक संजालमा सम्प्रेषित हुँदा बृहत अनि व्यापक उदार बहस होस् भन्ने अन्तर चाहना राख्दछु । मलाई “लाईक” या अन्य प्रकारका “वाहा वाहा” को किमार्थ लालच छैन । उठान गरिएका बिषयहरुमा बिषयगत तार्किक (सँधै प्रामाणिक नै हुनुपर्दछ भन्ने छैन) बिमति पढ्न पाउँदा मलाई असाध्य खुसी लाग्ने गर्दछ । अन्य सामाजिक संजाल र फेसबुक लाईकहरुको “गिभ एण्ड टेक” बहीखाता हो भन्ने मेरो मान्यता छैन र मज्जाले निश्चिन्त आठ घण्टा सुत्नका लागि मलाई “लाईक” र “वाहा वाहा” को सिरानी हाल्न पनि जरुरी छैन ।

सकेसम्म, जानेसम्म अनि बुझेसम्म समुदायका हरेक बिषयलाई साहासका साथ उकेरा लाउने प्रयास गरेको छु तथापि धर्मका बारेमा लेख्न चाँही अलिकति कसोकसो मलाई डर लाग्छ किनकी हाम्रा मान्छेहरु धार्मिकरुपमा सहिष्णु छैनन, आक्रामक किसिमले आईलागि हाल्छन । देशदेखि परदेश अनि कला-साहित्यदेखि समाज राजनीति सबै बिषयमा कलम चलाएको छु तथापि एउटा कुरामा चाँही मलाई आश्चर्य लाग्ने गरेको छ भनिएका पाँच हजार फेसबुके साथी र केही सय फलोअरको ठुलै भिंडमा किन मुस्किलले चार पाँच सयको मात्र नियमित क्रियाशीलता देखिन्छ?

मेरो संजालमा समेटिएका फेसबुके साथीहरुको ब्यबहारिक ब्रेकडाउन गर्दा प्रो-एक्टिभ साथीहरु त मुस्किलले तीन-चार सय जति मात्र रहेछन | एक्टिभको संख्या पुगनपुग हजारको हाराहारीमा होलान भने “हाईपर-एक्टिभ”को संख्या चाँही चालिस-पचास जति छ कि जस्तो आंकलन गरेको छु । मेरो परिभाषामा “हाईपर-एक्टिभ” भनेको चाँही स्टाटस पुरै नपढी आफ्नो बनिबनाउ नकारात्मक “ईगो”, “रिभेन्ज” र “पर्सेप्सन” लख्ने मित्रहरु हुन ।

यसरी ग्राफ निर्माण गर्दैगर्दा एउटा दुरुह सत्य पनि उद्घाटित भएको छ त्यो के हो भने बारम्बार गोंडमेल गर्दै “डिभर्स” र “ईन्क्लुसिभ” बनाएको मेरो फेसबुके फूलबारीमा अझै करिब पन्द्र सय जति “कम्प्लिटली-प्यासिभ” र अर्को पाँच सय जति आँखा छोपेको जस्तो गर्दै आँखा च्यातेर हेर्ने आडम्बरी ठुलाबडाहरु जस्तो कि मन्त्री, संसाद, उच्चपदस्त राष्ट्रसेवक, कुटनीतिज्ञ, बहुप्रतिभाशाली लब्ध प्रतिष्ठित व्यक्ति व्यक्तित्वहरु रहेछन जसलाई लागेको छ हामी जस्ता आम मानिससंग दोहोरो अन्तरक्रियात्मक भलाकुसारी गर्दा उहाँहरुको ईज्जत घट्छ या आपसेआप मानहानी हुन्छ ।

हड्सनवारीको यो चकमन्न मध्यरातमा सोंच्दैछु अब कति अनि कहिलेसम्म यो नव-अभिजात्य वर्गलाई रमितेको हैसियतमा मेरो फेसबुके फूलबारीमा पालेर राख्ने? तर यस्तो पनि लाग्दैछ कि कहीं कतै मैले तिन त्यो समुह र वर्गको रुचि र प्राथमिकताका बिषयहरुमा कलम या मुसा (माउस) चलाउन पो सकिन कि? अरुहरुलाई तौलीरहँदा म यो बखत आफैलाई पनि छिन्की रहेको छु, नापी रहेको छु । मैले बारम्बार भन्ने अनि लेख्ने गरेको छु हामी बनिबनाउ समृद्ध राष्ट्र या समाजबाट खत्तम हुँदै गरेका राष्ट्र, समाज या जातीहरु होइनौं बरु हामी त खत्तम पध्दती र राज्य ब्यबस्थाहरुबाट क्रमिकरुपमा सिक्दै, सुध्रदै अघि बढ्दै गरेको समाज र जातीहरु हौँ त्यसैले अब पनि हामीले बाँच्नकै लागि निराशा र कुण्ठाको सहारा लिन जरुरी छैन ।

अनपढ अशिक्षित मानिसहरुको बिबसता र नियति भन्दा पनि तथाकथित बौद्धिकहरुको मौनता हाम्रो वर्तमान समाजको डरलाग्दो रोग हो । त्यो वर्ग आफ्नो वैयक्तिक स्वार्थमा बाहेक अरुहरुका लागि चुईक्क बोल्दैनन बरु हामी संचारकर्मीहरु तिर अत्तो थापेर कैयन अवस्थाहरुमा हामीलाई वकिलको देखि न्यायाधिशसम्मकै काम गर्ने जिम्मेवारी दिन खोज्छन । कहिले काँही हामी पनि त्यो थिन-लाईन क्रस गरेर न्यायिक फैसलानै जारी गरिदिन्छौं । हाम्रो लेखन र संचारकर्मले त्यो सिमाना नाघेर “लिटिगेसन” देखि “भर्डीक्ट” जारी गर्नेसम्मको दुस्साहस गर्न हुन्न भन्ने कुरामा म चाँही स्पष्ट छु | हामी संचारकर्मीहरु सचेतनाका सम्बाहक मात्र हौँ, वकिल न्यायाधिश हुँदै होइनौं ।
मैले बारम्बार भन्ने अनि लेख्ने गरेको छु लागेको, देखेको र भोगेको सत्य-तथ्य मनको आदेशमा बिना स्वार्थ साहसका साथ लेख्न सके आधा युध्द हामी यसै जित्नेछौं !

Comments

comments

Comments are closed.