/ विचार-विश्लेषण / बिँड मात्र होइन अब ताप्के पनि तात्नु पर्छ – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

बिँड मात्र होइन अब ताप्के पनि तात्नु पर्छ – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

Shailesh Shrestha on January 15, 2020 - 10:36 pm in विचार-विश्लेषण

IMG_8914
अहिलेको युग अर्थात यो एक्काईसौं शताब्दीमा पनि कुनै देशको सिमाना मिचिन्छ, अतिक्रमण गरिन्छ या नक्शानै परिवर्तन गरिन्छ भन्ने कुरा मेरो उदार मनले मान्न निक्कै अप्ठेरो मान्ने गर्दछ त्यसैले होला “नेपाल देशै नरहे हामी काँहा रहुँला” भन्ने जस्ता कर्मकाण्डी लाईनहरु मलाई राजनैतिक मान्छेहरुको मनमा अन्तरनिहित घोर पश्चगमन मात्र हो जस्तो लाग्छ ।

मित्रराष्ट्र भारत र एकल शक्ति राष्ट्र भनिने अमेरिकासंगको नेपाल र नेपालीहरुको द्विपक्षीय अन्तर-सम्बन्ध अजिबको छ कि थुक्नु पर्ने कि त चाट्नु नै पर्ने! प्राय हरेक राजनैतिक दलको भारत बिरोधि रणनीति सत्ताआरोहणको भर्याङ्ग बन्ने गरेको छ तर त्यही राजनैतिक दलका नेता र सरकारप्रमुख सत्तारोहण पछि भारतका सामु लम्पसार हुनेगरेका छन । धेरै अगाडीका सरकार प्रमुखहरुको कुरा नगरौं त्यस्ता नाम अनि घटनाहरु तपाईका स्मृतिबाट धुमिल भईसकेका हुन सक्छन तर वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली एउटा पछिल्ला उदाहरण हुन । भारतीय नाकाबन्दीताका ओली र सत्तारोहण पछिको ओली हेर्नु अनि पढ्नु भयो भने मेरो जिकिरले यथार्थको धरातल मज्जाले टेक्छ ।

सुगौलीको सन्धि जस्ता विभेदकारी सन्धिलाई युगसापेक्ष समयानुकुल परिमार्जन गरौँ न है भन्दै सपाट उभिएर आफ्ना समकक्षीसंग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने सरकार प्रमुख हामीले कहिल्यै पाएनौं । हामी कहिल्यै कसैको उपनिवेशमा परेनौं भन्दै गीत र कवितामा “यो नेपाली शीर उचाली संसारमा लम्कन्छौँ” भनेर के गर्नु र भावना, मानसिकता र यथार्थतामा हाम्रा नेता र सरकार प्रमुखहरु औपनिवेशिक अनि दास जस्ता भएर लम्पसार पर्ने गरेकैछन ।
भारतले आफ्नो राजनैतिक नक्शामा नेपालको अकाट्य अखण्ड भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेपछि उत्पन्न भएको द्विपक्षीय तनाब सरकारी र कुटनैतिक स्तर भन्दा पनि जनस्तरमा बढी चासो अनि सरोकार भएर मंचित भएका छन । सरकारको मौनता देख्दा यस्तो लाग्छ हामी किन कराईरहेका अनि चिच्याई रहेका छौं खासमा केही भएकै छैन ।

ताप्के नतात्ने तर बिंड असाध्य तात्ने अजिबको प्रचलन छ नेपालमा । त्यही नेपालीपनलाई बोकेर हामी प्रवासमा पनि “मन त मेरो नेपाली हो” को बेसुरा गीत गाईनै रहेका छौं | एनआरएनएको अगुवाईमा संसारभर बिरोध प्रदर्शन भएका छन । म आवाज र बिरोधको ताकतलाई उच्च मुल्यांकन गर्दछु तर त्यस्ता योजना-आयोजना र अभियानहरुको रणनीति स्पष्ट हुनुपर्दछ । हाम्रो प्राथमिकता चाँही के हो र हुनुपर्दछ त? भारतको एकोहोरो उग्र-बिरोध, द्विपक्षीय वार्तालापको लागि जनदवाब, घटनाको अन्तराष्ट्रियकरण कि अन्तर्राष्ट्रिय नियोगहरु मार्फत न्यायिक निरुपण?

मेरो स्कुलिङ्गको कारण हो कि अमेरिकामै कैयन न्यायिक अभियानहरुमा निरन्तर काम गरेको कारणले हो कुन्नी मलाई न्याय, स्वतन्त्रता, स्वाधिनता, स्वायत्तताका हरेक खाले अभियानहरुमा जोडिन मनपर्छ त्यस अर्थमा स्व-स्फुर्तरुपले आयोजना गरिएको भनिएपनि नेपालका चिरपरिचित संचारकर्मी प्रेम बानिया र न्युयोर्कलाई कर्मक्षेत्र बनाएर काम गरिरहेका संचारकर्मी भाई अनिल अधिकारीको अनवरत मेहेनत र संयोजनमा नेपालका सिमाविद् तथा नेपाल-भारत द्विपक्षीय सम्बन्धका ज्ञाता बुध्दी नारायण श्रेष्ठको उपस्थितिमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडी सम्पन्न भएको बिरोध प्रदर्शनमा म पनि सामेल हुन पुगें अझ आयोजकहरुलाई उच्च सम्मान गर्दै यसो भनौं मलाई अर्को एउटा अहोभाग्य जुर्यो |

त्यहाँ केही घण्टा उभिईरहंदा मैले के के न गरे जस्तो मलाई पटक्कै अनुभूति भएन | नेपाली नागरिक हुनुको हैसियतमा म भारतको मिचाहा प्रबृत्तिको विपक्षमा प्रतिक बोलिरहेको थिएँ | त्यस्ता संकेत, प्रतिक अनि बिम्बहरु स्वेत-सर्बोच्चताबाद मार्फत हरेक खाले स्वतन्त्रता र स्वाधिनताहरुको मानमर्दन गरिरहेका हाम्रा राष्ट्रपति डोनाल्ड जे ट्रम्पको विपक्षमा पनि लेख्छु अनि बोल्छु । र्यालीबाट फर्किएर काममा जाँदै गर्दा मलाई यस्तो लाग्यो अबका यस्ता स्व-स्फुर्त बिसाल अनि बृहत र्यालीहरु एउटा ज्ञापन-पत्र समेत लिन नमान्ने भारतीय दुतावास, कन्सुलेट जनरलको कार्यालय या संयुक्त राष्ट्रसंघको मुख्यालयमा होइन सिंहदरबार र बालुवाटारहरुमा आयोजना गरिनु पर्दछ ।

वर्तमान सिमा अतिक्रमण अतिबादी मोदी सरकारको कुत्सित नियत हो बिगतका अन्य कुनै प्रधानमन्त्रीको पालामा नभएको यो घटना अहिले नै किन भयो? प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकीराष्ट्रहरुलाई मात्र होइन आफ्नै नागरिकलाई पनि “मुलुकबिहिन नागरिक” बनाउन क्रियाशील छन | उनले जम्मु-कास्मिर, असाम र मेघालयमा गर्दै गरेको बर्बर निरङ्कुश दमनले त्यो सफेद नियतको पुष्टी गरेको छ । सिमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने हुति वर्तमान नेकपा डबल सरकारसंग नभएको वर्तमान यथार्थ र अवस्थामा भारत सामु बिज्ञ टोलीको राय, सुझाब, प्रमाणिक एतिहासिक दस्ताबेज सहित तुरुन्त द्विपक्षीय वार्ताद्वारा यो समस्याको दिर्धकालिन समाधान गर भनेर अब पराईलाई होइन आफ्नै घरकालाई जनदवाब मार्फत घेराबन्दी गरिनुपर्दछ । बिँड त नसेलाउने गरि ताती सक्यो अब ताप्के पनि तात्नु पर्छ

Comments

comments

Comments are closed.