२४ बैशाख २०८१, सोमबार ७:५४ | 05/05/2024 10:09 PM



एनआरएनए कहानी: उस्तै रै’छ यता पनि! शैलेश श्रेष्ठ, उत्तर अमेरिका

३ भाद्र २०७८, बिहीबार ०१:०० मा प्रकाशित

भालुको मन खन्यु माथि भन्थे हाम्रा गाउँघराँ यता उत्तर अमेरिका तिर चैं जब एनआरएनएको प्रसंग अनि चुनावहरु आउँदछ तब प्रवासमै नेपालको दलगत राजनीति गरेर रमाई रहेका “आदा” हरु सल्बलाउन थाल्दछन । कांग्रेस र कम्युनिष्टको नाममा कित्ता काटाकाट गर्छन। “अल्छे तिघ्रो स्वादे जिब्रो” भएका बज्रस्वाँठ बेरोजगार भात्री संगठनका कर्जेकर्ताहरु बिचौलियाको हैसियतमा दलाली कर्मलाई निरन्तरता दिन्छन। स्वभावत: यिनीहरु समाज र मानिस मिलेको भन्दा फुटेको हेर्न चाहन्छन त्यसैमा उनीहरुको कमाईको सम्भावना रहन्छ । डेलिगेट्स नामको भोटिंग राईट्स उनीहरुको दलाली र बार्गेनिङ्ग गर्ने अश्त्र हुने गर्दछ। अझ अलिकति टाठाबाठाले त म संग यति जना डेलिगेट्स (भोट) छन फलानोले यति दिन्छु भनेका छन तिमी कति दाम दिन्छौं भनेर सिधै मोलमोलाई नि गर्छन।

त्यस्ता दलाल र बिचौलियाहरुलाई भेट्न र आवश्यक सौदाबाजी गर्न आकांक्षीहरु गामबस्ती र घरदैलो चाहार्ने क्रम सुरु भईनै सकेको छ। एनआरएनए क्यानडाको बार्षिक साधारण सभा र निर्वाचनको मौका पारेर एकजना आकांक्षीका हैसियतमा अमेरिकाज क्षेत्रका वर्तमान डीआरसी राम सी पोखरेल टोरोन्टो आएर भेटघाट बाक्लो बनाएको खबरले यताको हल्ला बजार अहिले तातेको छ। यो क्षेत्रमा आगामी आईसीसीका उम्मेदवारहरुको आँखा पर्नु स्वाभाविकै हो मुलुक र संस्था सानै भएपनि यहाँबाट १५० जना डेलिगेट्स चुनिएका (छानिएका) रहेछन। क्यानडा तिर नि “आदा” हरु बढेका रहेछन। तर अमेरिकामा जस्तो महामारीको रुप चाँही लिई सकेको रहेनछ।

प्रत्यक्ष निर्वाचनको सुपरिवेक्षण गर्ने क्रममा मैले दिनभरी भेटेका अधिकाश मतदाताहरुले एनसीसी क्यानडामा दलगत राजनीति छिरेकोमा आपत्ति संगै निराशा नि प्रकट गरे। मैले त्यही दिन निवर्तमान कार्यसमितिका हर्ताकर्ता र कैयन पुर्व अध्यक्षहरुसंग पनि प्रत्यक्ष भेट्ने र वार्तालाप गर्ने अवसर पाएँ। उनीहरु अमेरिकाको तुलनामा अधिक बिनयशील र कुटनैतिक रहेछन। यहाँ पनि सूर्यमुखी कांग्रेस भन्ने शब्दावली प्रचलित रहेछन किनकी यहाँ कांग्रेस समर्थितहरुको तीन गुट रहेछन भने खड्ग प्रसाद शर्मा ओलीको सर्वसत्ताबादी ह्यामरले यताका “आदा” कम्युनिष्टहरुलाई नि क्षेतबिक्षत अनि टुक्राटुक्रा बनाई दिएका रहेछन त्यही कारण यसपालीको निर्वाचनमा लामो समयदेखि एकछत्र रजगज गरेका कम्युनिष्ट भनिने प्रवासी मंच समर्थितहरु पाखा लागेछन।

अहिले निर्वाचित भएकाहरुको मूल नारा प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र संगठनलाई दलगत राजनीति मुक्त बनाउने रहेछ। तर भित्री राज र गुदी खोज्ने हो भने अहिले नेतृत्वमा आएकाहरु यता आएर नि खुलेरै कांग्रेस पार्टीको राजनीति गरेकाहरु रहेछन। प्रवासी मंचवालाको एकाधिकार तोड्नको लागि प्रत्यक्ष निर्वाचन प्रणाली र गैर राजनैतिक चरित्रको एनआरएनए बनाउने गुलियो मिठो नारा र एजेन्डाका साथ कांग्रेसका सबै गुट, संस्थापन बिरोधि कम्युनिष्ट र राजाबादीहरु एकठ्ठा भएका रहेछन। यहाँको निर्वाचन शैली अमेरिकाको भन्दा फरक छ। प्रत्यक्ष निर्वाचनबाट १९ जना राष्ट्रिय समन्वय परिषद सदस्यहरु छानिन्छन अनि पछि तिनै १९ जना सदस्यहरुले आफुहरु मध्यबाट कार्यकारी समितिको निर्वाचन गर्दछन।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र पोखरेलका अनुसार धेरै पद निर्बिरोध तर केही पदमा भने निर्वाचन नै भएको थियो। निर्वाचन परिणाम अनुसार सन्त राजभण्डारी, शम्भु धमला, गिरी प्रसाद बुढाथोकी र दुर्गा बहादुर अधिकारी अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा निर्बिरोध चयन भएका थिए भने सभापतिमा सम्राट कुमार थापा र अध्यक्षमा दीपकदत्त गौतम निर्वाचित भए। त्यसैगरी महिला उपाध्यक्षमा संगीता जीसी, अन्य तीन उपाध्यक्षमा दीपक सापकोटा, कृष्ण न्यौपाने, शैलेन्द्र चापागाईं चुनिएका छन। महासचिवमा अनुप सुबेदी, कोषाध्यक्षमा यम बहादुर खत्री र सचिवमा राजेन्द्र पोख्रेल निर्वाचित भए। कार्यसमितिका सदस्यहरु बाबुराम बनिया, पितानाथ पौडेल, बिरेन्द्र बहादुर रावत, पिताम्बर भट्टराई, गोपाल प्रसाद भण्डारी, बिनोद कुमार सुबेदी, राजु भट्टराई, प्रमेश गुप्ता, सोम बहादुर गुरुङ र लक्ष्मण अधिकारी चयन भएका छन।

नव-निर्वाचित अध्यक्ष दीपकदत्त गौतम संग मेरो निजि परिचय र चिनजान छैन। निर्वाचन पश्चात मैले करिवन ४० जना जति क्यानडाबासी प्रवासी नेपाली हरुसंग फोन सम्पर्क र भेटघाट गरेर उनको बारेमा सोधेको बुझेको थिएँ । अचम्मको कुरो अधिकांशको जवाफ मिल्दाजुल्दा थिए “खोई के भनौं हजुरलाई उनी असल, सक्षम र ईमान्दार मानिस हुन तर कांग्रेसी हुन।” मनमनै सोंचे अझै सोंचिरहेको छु महान समाजबादी नेता बीपी कोइरालाको लोकतान्त्रिक पार्टीको एकजना शुभेच्छुक या समर्थक हुनु उनको के अपराध भो र? कांग्रेस या कम्युनिष्ट भन्ना साथ हाम्रो प्रवासी नेपाली समाज किन तर्सन्छन? देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउने यी दुई शक्तिहरुसंग प्रवासी नेपालीहरु किन झस्किई रहेका छन। अझ एनआरएनएको सवाल र सन्दर्भमा त झन उनीहरुको बिचार या आस्थालाई किन अपराधीकरण गरिन्छ? म यता रहिन्जेल बसिन्जेल यिनै बिषयहरुमा घनिभूत रुपमा एनालाईटिकल, क्रिटिकल मात्र होइन स्केप्टीकल भएर बिबेचना र विश्लेषण गर्दै आफ्ना निरपेक्ष विचार र बुझाईहरु निरन्तर सम्प्रेषण गरिने रहनेछु।

तस्विर साभार: माउन्ट एभरेष्ट टेलिभिजन क्यानडा