/ समाज र सिर्जना / प्रवास र उद्यमशीलता

प्रवास र उद्यमशीलता

Shailesh Shrestha on December 31, 2015 - 12:49 pm in समाज र सिर्जना

हामी नेपालीहरु अक्सर आडम्बरमा बाच्छौँ | भन्ने एउटा कुरा अनि गर्ने अर्को कुरा हाम्रो पुरातानिक पहिचान हो अनि दोहोरो मापदण्डमा आफु अनुकुल बाच्नु हाम्रो नेपाली तरिका हो | रेस्टुरेन्टमा काम गर्छु, गाडी चालाउँछु, बेबी सिटिङ्ग गर्छु,शारीरिक तथा मानसिकरुपले अशक्तहरुको सेवा गर्ने काम गर्छु, नेल शैलूनमा काम गर्छु भनेर स-गर्ब ठुलो स्वरले भन्ने मान्छे भेटिंदैन अथवा बिरलै भेटिन्छन |
Shailesh Shrestha at Pasang Stylist

बरु आईटीमा काम गर्छु, वाल स्ट्रिटमा कारोबार गर्छु अनि म्यानह्याटनमा आफ्नै एउटा ब्यबसाय सुरु गरेको छु भन्ने अमुक हावादारी गफ डबलीमा चुटेर आत्मरतीमा रमाउँछौं तर त्यो र त्यस्तै सपनाहरु साकार पार्ने कर्ममा हामी निष्ठापुर्वक लाग्दैनौं | अरुले जहाज चढेको सुन्न साथ हाम्रा मान्छेलाई धुरी चढ्न हतार हुन्छ |किनकी हाम्रो अर्ध-सामन्ती पुरातानिक समाजले काम गर्नेलाई सानो अनि काम ठग्नेलाई ठुलो भनेर परिभाषित गर्यो | त्यसैको सिको गर्दै आफु र आफ्ना सन्तान अनि वरपरकालाई पाल्ने र धान्ने उपरोक्त कामलाई हामी “डर्टी जब” भनेर परिभाषित गरिदिन्छौं अनि भाषणमा चाँही श्रमको सम्मान गरौँ भनेर थाक्दैनौं |

तर त्यस्तो आडम्बरी भींडमा अहिले पछिल्लो चरणमा अमेरिकी प्रवासी समाजमा केहि उर्जाशिल, ईमान्दार, कर्मबीर, पेशाकर्मी उद्यमीहरु देखिन थालेका छन् जो आफ्नो श्रममा गर्ब गर्छन र आफ्नो शिपमा गर्विलो जीवन बाच्छन | उनीहरु जीवन मात्र जिउँदैनन बरु समाजमा प्रेरक उद्यमीकारुपमा चिनिन्छन | अनि आफुले गरेको कर्मलाई उपल्लो स्तर र दर्जाका साथ सम्मान समेत गर्छन |

तिनै र त्यस्तै कर्मबीरहरुको छोटो लाममा अग्र पंक्तीमा आउने एउटा नाम हो, पासाङ्ग स्ट्राईकिङ्गका पासाङ्ग शेर्पा फिनासा | सरल र नेपाली ठेट बोलीचालीको भाषामा भन्नु पर्दा एक जना नेपाली हजाम | ज्याक्सन हाईट्सकै केहि आडम्बरी जमात बेला कुबेला यिनको साहसिक कर्मको कटु आलोचना समेत गर्छन तर सामाजिक तथा राजनैतिकरुपले सुशिक्षित र सचेत पासाङ्ग आफुले टेकेको अडिलो धरातलबाट डेग हल्लदैनन |

म आफु आफ्ना नेपाली जातीले प्रारम्भ गरेको बन्द ब्यबसायलाई सघाउनु पर्छ भन्ने मान्यता र बढी आदर्श छाट्ने भए पनि पासाङ्गको सैलुनमा सेवा र उनको ब्यबसायिक पारख लिन जान सकेको थिईन | बर्सौं पछि यो हप्ता उसको जादुगरी छरितो कपाल कटाईको फाईदा लिने निजि अहोभाग्य जुर्यो | उमेर र सम्मान दुवैको योगफलले उसले मलाई “दाई” को आत्मीय सम्बोधन गर्छ त्यस दिन पनि त्यहि सम्बोधनमा उसले सोध्यो “दाईलाई कस्तो स्टायल मन पर्छ?” मेरो निश्चिन्त अनि बिश्वाशिलो प्रतिउत्तर थियो “पासाङ्ग स्टायल”!

न्युयोर्क स्थित ज्याक्सन हाईट्सको पासाङ्ग स्ट्राईकिंग स्टायलमा उद्यमी पासाङ्ग शेर्पा फिनासासंग

न्युयोर्क स्थित ज्याक्सन हाईट्सको पासाङ्ग स्ट्राईकिंग स्टायलमा उद्यमी पासाङ्ग शेर्पा फिनासासंग

म लामो कपाल त्यतै छाडेर “पासाङ्ग स्टायल” मा चंगा भएर गृह राज्य न्युजर्जी फर्किए | एनजे ट्रान्जिटबाट घर फर्कंदा बाटो भरि तर्कना गरिरहें, यदि डबली गफ र बोक्रे आडम्बरी आदर्श बोलेझैं हामी चालीसौं हजारको संख्यामा रहेको प्रवासी नेपालीहरुले हाम्रा नेपाली उद्यमीहरु कहाँ गएर उनीहरुले स्थापना गरेको ब्यबसायमा किनी दिने, सेवा लिई दिने अनि खाई दिने मात्र गर्ने हो भने अबको हाम्रो प्रवासी नेपाली पुस्ता “जागिरे” बाट “उद्यमशील” हुने थियो तर हामी बायाँको “क्याफे चिया” पसललाई नदेखें झैं गरी अर्को ब्लकको डंकिन डोनटको गन्तब्य तय गर्छौं अनि हाम्रै एभरेष्ट ग्रोसरी र हिमालय ग्रोसरीहरुमा हाम्रा आँखा पर्दैनन बरु आँखा चिम्लिएर सब्जीमण्डी अथवा पटेल ब्रदर्समा ठोकिन्छौँ |

हामीलाई दु:खमा साथ दिने आफ्नै कानुनविदलाई गाली गर्दै अर्को बिरानो अमुक कानुनविदको पक्षपोषण गर्छौं | चार ब्लक परको ह्याप्पी किचेन रेस्टुरेन्टसम्म पुगेर शुशी परिकार चाख्ने अभिलाषा हुँदैन हामीलाई बरु पल्लो ब्लकको पिजा पसलमा पुगेर पेट भर्छौँ | गहुँगो ऋणभार बहन गरेर पढेका अनि आफ्ना बन्द ब्यबसाय सुरु गरेका तन्नेरी उद्यमीहरुलाई शुभकामनाका दुई शब्द व्यक्त गर्न हामीसंग समय हुँदैन बरु अरु कहीं कतैको मानिसको बखान गरेर थाक्दैनौं | डंकिन डोनटमा पन्द्र मिनेट भन्दा बढी ठाउं कब्जा गरेर बस्न पाईंदैन भन्ने चेतना हामीलाई हुन्छ तर हाम्राहरुकोमा गएर हातमा एक कप चिया बोकेर दिन भर पंधेरे गफ हाँकेर बस्न हामी अप्ठेरो मान्दैनौं |
समग्रमा अझैं पनि हामी र हाम्रो पुस्तामा हाम्रा आफ्नै उद्यमी र ब्यबसायीहरुलाई प्रोत्साहन र प्रबर्धन गर्ने उदार मन र चेतना छैन |

Comments

comments

Send Us A Message Here

Your email address will not be published. Required fields are marked *