१४ बैशाख २०८१, शुक्रबार १०:२२ | 04/26/2024 12:37 AM



एनआरएन अमेरिकाको चुनाब र चेरी ब्लोजमको याम

२६ फाल्गुन २०७१, मंगलवार ०८:१८ मा प्रकाशित

अहिले हामी संचारकर्मीहरु माथि आम प्रवासी नेपालीहरुको आशा र भरोसा ह्वात्त बढेको छ, त्यस अर्थमा यो कर्म चुनौतीपूर्ण बन्दै गएको छ| एनआरएनका हर्ताकर्ताहरुलाई हामी निरन्तर निगरानी र पहरेदारी गरिरहेका छौं भनेर भन्थ्यौं अनि लेख्थ्यौ तर अहिले बन्दुक हामी तिर फर्किएको अवस्था छ| तर यो जोखिम हामी स-गर्ब अनि साहसका साथ स्वीकार गर्छौं|

हामीले एउटा यामभरि जस र प्रसंशा बटुल्यौ त्यसको आधार हामीले आफ्नो बुता, बर्गत र ज्ञानले भ्याएसम्म एनआरएन अमेरिकालाई यहाँसम्म ल्याई पुर्याउन खेलेको अहम र जोखिमपूर्ण भूमिका नै थियो| पहिलो निर्वाचन आरम्भ देखि समापनसम्म न्युयोर्कका संचारकर्मीहरुले पाएको एक छत्र जस र प्रसंशा अहिले अमेरिकाभरिकै संचारकर्मीहरुको कित्ता र पोल्टो पुगेको छ| किनकी अहिले सबै जना संचारकर्मी मित्रहरु यो संस्थालाई दलगत राजनीति भन्दा माथिको र हामी सबैको बनाउन कम्मर कसेर लागेको अवस्था छ| त्यस अर्थमा अबको चुनौती पनि सामुहिक नै हो|

हिजो अमेरिकी नेपाली कलाकार संघले आयोजना गरेको फण्ड रेजिंग कार्यक्रममा पुग्दा देखि निस्कँदासम्म म एनआरएन अमेरिकाका शुभचिन्तक, गत बर्षका आकांक्षीहरु, आउँदो चुनाबका प्रत्याशीहरुको आत्मीय घेराबन्दीमा परें| उनीहरुले तीन चार वटा अहिले तत्काल सम्बोधन गर्नु पर्ने बिषय र प्रसंगहरु उठाए| अधिकांश आम प्रवासी नेपालीहरुको एउटै गुनासो थियो “शैलेशजी, तपाईहरुको भूमिका कम भयो|” हामीले विचार सम्प्रेषण गर्न नसकेको उहाँहरुको गुनासो थियो| उहाँहरु भनिरहनु भएको थियो “बिज्ञप्ति” मात्र छापेर आम मानिसलाई सहि सूचना सम्प्रेषण हुँदैन त्यसको यथार्थ बिबेचना र समिक्षा पनि लेखिनु पर्छ, त्यो दायित्व पनि तपाईहरुकै हो|”

अहिले एनआरएन अमेरिकाको निर्वाचन तिथि मिति औपचारिकरुपमा घोषणा भईसकेको अवस्था छ| मेरील्याण्डमा चेरी ब्लोजमको पारिलो याम ताकेर सुबिधा सम्पन्न होटलमा बार्षिक साधारण सभा घोषणा गरिकेको छ तथापी आम प्रवासी नेपाली र सदस्यहरुमा रहेको अन्योल र चिसोपनको पूर्ण निरुपण हुन सकेको छैन| उहाँहरुको अधिकांशको बिमती अहिले यहि मार्च महिनाको २१-२२ तारिख मेरील्याण्डको होटलमा हुन लागेको बार्षिक साधारण सभाको बारेमा थियो| वर्तमान कार्यसमितीले प्रवेश शुल्क भनेर राखेको सय डलर केका लागि हो र यदि होटलमा बसेर त्यो दस्तुर तिरेर भाग लिन नसक्नेहरुले साधारण सभामा भाग लिने, अभिमत राख्ने र मत दिने आफ्नो नैसर्गिक हक अधिकार कसरी स्थापित गर्ने? प्रोक्सी मतको आधार र स्वरुप के र कस्ता हुनेछन? नाच गान, गाना बजाना आदि ईत्यादीमा सहभागी नभई महत्वपूर्ण सत्र वार्षिक साधारण सभामा मात्र हामी साधारण सदस्यले जान पाईन्छ कि पाईंदैन?

हामी सबैको इमेल ठेगाना एनआरएन अमेरिकासंग भईसकेको यो अवस्थामा हामी आम सदस्यहरुले संसोधनका लागि प्रस्ताब गरिएको मसौदा बिधान इमेल मार्फत हामीलाई पठाउन वर्तमान कार्यसमितीलाई किन महाभारत भईरहेको छ? यदि गणपुरक संख्याको समुपस्थितिमा प्रस्तावित बिधान पास भएको खण्डमा अबको पूर्णकालिक निर्वाचन अहिले घोषणा गरिए अनुसारनै हुन्छ कि नयाँ बिधानलाई आधार मानेर हुन्छ? बार्षिक साधारण सभाले पास गरेको नयाँ बिधान अनुसार निर्वाचन गर भनेर त्यो म्यान्डेटलाई टेकेर वर्तमान कार्यसमितीले निर्वाचन कमिटीलाई अनुरोध या आग्रह गर्यो भने के हुन्छ?

वर्तमान बिधान अनुसार कम्तिमा साठी दिनको म्याद राखेर निर्वाचनको तिथि मिति घोषणा गर्नु पर्ने प्राबधान हुँदा हुँदै किन हतारमा निर्वाचनको मिति घोषणा गरियो? आगामी निर्वाचनकालागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका वर्तमान पदाधिकारीहरुको जिम्मेवारी र हैसियत कस्ता हुन्छन? अहिले आम प्रवासी नेपाली तथा एनआरएन अमेरिकाका सदस्यहरु यिनै अहम बिषयहरुको औपचारिक र जिम्मेवारपूर्ण जवाफ पर्खिरहेका छन तर सम्बन्धित निकाय मौन अनि चुपचाप बसेका छन|

यिनै र यस्तै प्रारूप र स्वरूपका दर्जनौं प्रश्न र सरोकारहरु बिच हिजो मैले त्यो फण्डरेजिंग कार्यक्रममा करिब तीन घण्टा बिताएँ| हिजो आज न्युयोर्कका सभा समारोहहरु अक्सर “पशुपतिको जात्रा शिद्राको ब्यापार” हुने गर्दछन| कार्यक्रम चलिरहन्छ उनीहरुलाई मतलब छैन कि कुम जोडेर “फोटो शेशन” र “सेल्फी” चल्छ कि गुपचुप गुपचुप आन्तरिक गठबन्धनको तयारी अनि भोट माग्ने काम निरन्तर चल्छ|

दृष्य दुरुह देखिन्छ यिनीहरु कार्यक्रममा बस्न या सुन्न होइन मौकामा चौका हान्न सभा समारोहमा पुग्छन| आफ्नो दादागिरी या चम्चागिरी चल्यो भने त दुई शब्द शुभकामना दिने बहानामा मंचमा चढेर “लु है म त फलानो पदमा उठ्ने निर्णय गरें….” भनेर निशुल्क प्रचार गरिहाल्छन| उनीहरुलाई आयोजकले त्यत्रो दु:ख गरेर न्युयोर्कको महँगो हल भाडामा लिरेर बिशेष उदेश्यकालागि गरिएको कार्यक्रम बारे केहि मतलब हुँदैन|

कार्यक्रममा बस्ने कुर्चीहरु खाली देखिन्छन कारण उनीहरु आ-आफ्नो मिशनमा लागेर ठुलो स्वरले “साईड टक” गरिरहेका हुन्छन| अनि साँझ ढल्के पछि फेसबुकमा यिनको आफैले लेखिएको स-चित्र समाचार आउँछ| सभा समारोहहरुमा कहिले काँही यिनीहरुले पोखेको तितो सुन्ने आहोभाग्य हामीलाई मिल्छ, उनीहरु चिच्याई रहेका हुन्छन ” ..आफुलाई ठुला ठान्ने पत्रकारहरु नआएर अथवा मेरो समाचार नछापेर के फरक पर्छ र? यो नागरिक पत्रकारिताको युगमा हामीलाई थाहा छैन र कसरी समाचार बनाउने?” (#सक्किगोनि)

हामी कम संचारकर्मीहरुहरु छौं जो समाचार भन्दा बढी विचार, विश्लेषण र समालोचना (जसलाई यिनीहरुले बिरोध भनेर बुझ्ने गरेका छन) लेख्छौं| म आफु पत्रकार नभएकोले सिकारु संचार्कमीको हैसियतमा बिषयगत “सम्प्रेषण” मात्र गर्छु| मनको आदेशमा लेख्छु जे देख्छु अनि बुझ्छु त्यहि र त्यत्ति मात्र लेख्छु| त्यसै गरि संचारकर्मी मित्रहरु विजय पौडेल, भोला आचार्य, मधुकर अधिकारी, ज्योति कुमार श्रेष्ठ, रामचन्द्र भट्ट, सुदिप पन्त, ससंग लामा, राजन थपलिया, योगेश आदी बेला बखत मनबाट आफ्ना अभिमत र साहस लेख्छन नत्र भने प्राय जसो बिषयगत समाचारहरु मात्र प्रकाशित हुने गरेको छन|

केहि संचारकर्मी साथीहरु राजनैतिक दलमा प्रवेश गरिसकेको र केहिले उताको जिम्मेवारी लिईसकेको अवस्थामा उनिहरुबाट हामीले ठुलो अपेक्षा राख्न मिल्दैन| उनीहरु पार्टीगत र गुटगत लाईनमा ताबेदारी या प्रसस्ती लेख्छन र लेखिरहेका छन भने केहि संचारकर्मीहरु पार्टी लाईन (अझ गुट बिशेष) र व्यक्ति बिशेषको स्तुतिगानमा रमाएकाछन अब उनीहरुको पनि नाम लिंदै संचार्कमीहरुको संख्या बढाउनुको कुनै अर्थ छैन|

त्यसै मेसोमा एनआरएन अमेरिकाको अध्यक्ष पदको दावेदारका रुपमा सबभन्दा पहिले अनौपचारिक उम्मेदवारी दिएर देश दौडाहमा निक्लिएका डा. केशब पौडेल पनि कार्यक्रमको उत्तरार्ध तिर टुप्लुक्क देखा परे| जम्काभेट भयो, उनले त्यहि प्रिय लाईन (कतिलाई अप्रिय पनि लाग्न सक्छ) ठट्यौलो पारामा दोहोर्याए “शैलेशजी तपाईसंग सधैं भन्ने गरेको छु मलाई “चम्चाहरु” मात्र होइन “काँटाहरु” पनि चाहिछ|” मैले कुरो बुझीं हालें यसो हेरें उनको पछाडी हिड्नेहरुको लाईन लामै थियो|

कुरो बुझ्दै जाँदा अनि हिसाब किताब गर्दै जाँदा अहिले अरुहरु होइन हामीहरु पो बढी जोखिममा रहेछौं| तर हामी साहसका साथ यो अहम भूमिका र जिम्मेवारी निर्वाह गर्नेछौं |