१४ बैशाख २०८१, शुक्रबार १२:२२ | 04/26/2024 2:37 AM



हो रैछ भाई, हामीनै पो खत्तम रहेछौं! – शैलेश श्रेष्ठ, न्युयोर्क

१७ फाल्गुन २०७१, आईतवार ०१:२५ मा प्रकाशित

Thumbnail for 170

खास अर्थमा जनताकालागि काम गर्ने मान्छेलाई जनताले खोजीखोजी अनि रोजीरोजी ल्याऊछन्| अहिले भारतको दिल्ली बिधानसभामा आम आदमी पार्टीको एकछत्र उल्लासपूर्ण विजय र केजेरिवालको पुनरागमनले त्यो बिराट सत्यलाई सावित गरिदिएको छ|

विजय उत्सबमा दिल्लीका भावी मुख्य मन्त्री अरविन्द केजरीवाल

गत बर्षको फेव्रुअरी १४ तारिख मुख्यमन्त्रीबाट राजिनामा दिएका केजेरिवाल त्यहि दिन पुनः दिल्लीको मुख्य मन्त्रीको सपथ लिदैछन| बिधानसभाको ७० सिटमा ६७ सिटमा उनको पार्टीले भारतीय बिबेकशील जनताको अभिमतद्वारा कब्जा गरेको छ भने मोदी मन्त्रले चमत्कारिक बनेको ठानिएको भारतीय जनता पार्टी दिल्ली विधानसभामा खुम्चिएर ३ सिटमा चित्त बुझाउन पुग्यो भने कंग्रेसले एक सिट पनि जित्न सकेन|

यो परिणामले बिशेष गरेर दक्षिण यशियाका राष्ट्रहरु र संसारभर न्याय र सुशासनको पक्षमा वकालत गर्नेहरुलाई उत्साहित बनाएको छ भने खास अर्थमा जनताको पक्षमा काम गर्नेहरुले संसार जित्न सक्छन भन्ने नजिर पनि स्थापित गरेको छ| के सिक्ने हामीले र हाम्रो देशले यस्ता सुखद परिणाम र परिणतीहरुबाट?

सम्प्रेषणको सम्पादनमा अक्सर श्याम भाई भनि रहन्छन “होइन दाई, हाम्रा त मान्छे नै खत्तम किन उताको कुरो गर्ने दाई यहाँ अमेरिकामा आफ्ना भ्रष्ट नेता आउँदा चाकरी, चाप्लुसी र तावेदारी गर्नेहरुको लाईन हेर्नुस न? किन उता हाम्रा नेताले यसो गरे र उसो गरे भनेर गाली गर्ने? जति दिन, महिना र बर्षहरु बित्दै जान्छ म यो भाईको कुरामा सत्यता देख्छु|

ति हाम्रा भ्रष्ट भनिएर सार्वजनिकरुपमा गनाएका अथवा मुद्दा या आरोप खपेकाहरुलाई हामीले सिधा आँखामा आँखा जुधाएर उनको कर्तुत र भ्रष्ट आचरणबारे दुईटा प्रश्न राख्न सक्यौं? बरु छँदा खाँदाको काम छाडेर विमानस्थलसम्म खदा र माला लिएर स्वागत गर्न मारामार गर्यौं| तिनै भ्रष्ट नेताहरुलाई टाउकोमा चढाएर सार्वजनिक उर्दी जारि गर्दै बिशेष अतिथि बनाएर साँझ सामुदायिक अन्तरक्रिया, अनि केहि घण्टा पछि फेसबुकमा बकम्फुसे फेसबुके समाचार!

श्याम भाईले भनेझैं भ्रष्ट त हामी पो छौं (?) आफ्नो पार्टी, जात या विचारको भएका कारण हिजोसम्म भ्रष्ट र फटाहा भनिएकाहरु जे.एफ.के. मा अवतरण भए पछि “हाम्रा महान नेता” हुन्छ| यो सुध्दिकरणको प्रक्रियाबाट थुप्रैलाई हामीले यहाँबाट चोख्यायौं अनि “क्लिन चिट” दियौं|

केहि समय पहिलेको कुरो हो भ्रष्ट चिरन्जीवी वाग्ले र खुम बहादुरलाई जेल चलन गरेपछि मैले एउटा सार्वजनिक समारोहमा खुशी व्यक्त गर्दै भनेको थिएँ “अब हाम्रो देशमा पनि ढिलो चांडो भ्रष्टहरु बिरुध्दको कारवाही थालनी भएको छ र अब दण्डहिनताको अन्त्य तर्फ वर्तमान सरकार एक कदम अगाडी बढेको छ” त्यस पछि नेपाली कांग्रेसका मित्रले भने “होइन अहिले छानी छानी नेपाली कांग्रेसका नेताहरुलाई तारो बनाईएको छ किनकी अहिले बामपन्थीहरुको गठबन्धन छ” #सक्किगोनि

नेपालको पार्टीको झण्डा बोक्नेहरुबाट हुने गरेको यस्तो तावेदारी र पृष्टपोषण हामीले निरन्तर सुन्दै आएका छौं|

अहिले एमाओवादीले ल्हारक्याल लामालाई सभासद बनाएको छ, अहिले म सानो र मसिनो स्वरमा सुन्छु होइन जनजातीलाई सभासद बनाएकोले मुलधारको खास नियन्त्रित मुलधारको पत्रपत्रिकाले बिरोध गरेका हुन् अनि सुन काण्डका मसिहा वर्तमान उपप्रधान तथा गृह मन्त्रीका बारेमा “सुनसंग बामदेवको साईनो” शिर्षकमा मैले निजि विचार लेखे पछि अमेरिकाका लोकल एमालेहरुको रंग र वर्ण फरक देखिएको थियो|

यस्तो दुरुह र संकीर्ण विचार र चेतना हामीमा रहिन्जेल हामी “लालु प्रसाद यादब” र ” अरविन्द केजरीवाल” बिच फरक छुट्याउन सक्दैनौं| हो रैछ श्याम भाई, हामीनै पो खत्तम रहेछौं!