१५ बैशाख २०८१, शनिबार ६:२९ | 04/26/2024 8:44 PM



बाँडी चुंडी जय नेपाल संस्थापन र निर्वाचन प्रमुखको तनाब

१३ चैत्र २०७१, शुक्रबार ०५:३३ मा प्रकाशित

आज दिउँसो मैले निर्वाचन प्रमुख बिनोद रोकालाई उनको निर्वाचन कार्यालयमा गएर भेट गरें| उनि अहिले अदृश्य दवाब र नैतिक घेराबन्दीमा काम गरिरहेका छन| वर्तमान कार्यसमितीले खाए खा नखाए घिचको अप्ठेरो अवस्थामा उनलाई यो अहम भूमिका जिम्मा दिएका छन भने कति अवस्थामा उनको प्वाँख काटिएको अवस्था पनि छ| अन्तिम अवस्थामा आएर पुरानो बिधान परिवर्तन गदै बार्षिक साधारण सभाले केहि नयाँ पदहरु सृजना गरेपछि यो अन्योल बढेको हो|

वर्तमान कार्यसमितीले परिवर्तित पदावली सहितको लिखित जानकारी निर्वाचन आयोगलाई नदिएको कारणले निर्वाचन प्रमुखले के कति पदकालागि आवेदन माग गरिनु पर्ने हो र त्यसको परिवर्तित उम्मेदवारी दस्तुर कति हो त्यो समेतको लिखित जानकारी पाएनन् अन्तत्वोगत्वा त्यहि सानो कारणले अस्ति चौबिस घण्टा भन्दा बढी अन लाईन एप्लिकेशन साईट बन्द भयो|

उम्मेदवारले मनोनयन दाखिला गर्ने म्याद अब दुई घण्टा पनि छैन| अहिले थुप्रै पदहरुमा “पाईन्छ” या “पाइदैन” अथवा “मिल्छ” या “मिल्दैन” को डरलाग्दो अन्योलमा आकांक्षीहरुले मनोनयन पत्र अनलाईन दर्ता गराएका छन| अहिले २५ सिटको लागि मनोनयन आह्वान गरिएको छ, परिमार्जित बिधान अनुसार अब दुई जनाको सट्टा अब चार जना उपाध्यक्षहरुको प्रत्यक्ष निर्वाचन हुनेछन भने बोर्ड अफ डाईरेक्टरको संख्या दस पुर्याईएको छ| यो सत्रसम्म मिडिया कोअर्डिनेटरको पनि निर्वाचन नै हुने छ भने सन २०१७ बाट भने यो पद मनोनयन गरेर पूर्ति गरिनेछ|

च्याप्टर गठनको नाममा थामी नसक्नुको हावादारी पदहरु सिर्जना गरेर शक्ति पृथकीकरणको नाममा शक्ति र पदको नाममा द्वन्द सिर्जना गराएका छन| यहि प्राबधानको आडमा अहिले केन्द्र र ठुला राज्य र सहरमा रहेको पद लोलुपता, लालच र दलगत तिकडम अब साना राज्यहरुसम्म विकेन्द्रित हुने खतरा बढ्यो|

यसपालीको सबभन्दा ठुलो समस्या भनेको बिधानको ब्याख्या हुने छ| अहिले बिधानको ठेट व्याख्या भन्दा पनि आ-आफ्नो अनुकुल र स्वार्थमा ब्याख्या गरेर अरुलाई निषेध गर्ने चलन र प्रयास बढ्न थालेको छ| त्यो निसन्देह यो संस्थाकोलागि खतरनाक र हानिकारक हो| यसै हो भनेर ठोकुवा गरेर अहिले कसैले पनि भन्न सकेका छैनन|

के भन्छ त आईसीसीको बिधानले?
बिधानको १७.५.३. ले नेपाली भाषामा स्पष्ट शब्दमा यसरी परिभाषित गरेको छ: “अन्तराष्ट्रिय समन्वय परिषद सदस्यकालागि उम्मेदवार बन्नकोलागि निज अन्तराष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा एक कार्यकाल पुरा गरेको हुनुपर्ने छ| दफा २२.१४.१. अनुसार मनोनित सदस्यहरुको हकमा भने यो लागु हुने छैन|

पछि अंग्रेजीमा अनुवाद गरिएको अंग्रेजी भाषामा लेखिएको बिधानमा यसो भनिएको छ: “To be a Member of the ICC, the candidate should have completed one term of office as the Office Bearer or Member of ICC or Member of NCC. This will not be applicable in case of the Co-opted Members according to the Sub Clause 22.14.1 of this Constitution.

अब एउटा जरो अनि खरो प्रश्न अगाडी आउँछ, नेपालीमा भनिएको “एक कार्यकाल” र अंग्रेजीमा उल्था गरिएको “one term” को बैधानिक र ब्यबहारिक अर्थ के हो? अहिलेको निर्वाचित कार्यसमितीको कार्यकाललाई नेपालीमा भनिएको “एक कार्यकाल” र अंग्रेजीमा उल्था गरिएको “one term” मान्ने कि नमान्ने?

अमेरिकी राजनीतिमा पनि यो “कार्यकाल” लाई ठाउँ र परिवेश अनुसार परिभाषित गर्ने गरिएको छ| उदाहरणकोलागि म्यासाच्युसेट्स राज्यका सिनेटर टेड क्यानेडीको देहाबशान पछि उक्त सिटकोलागि भएको उप निर्वाचनमा बिजयी भएका स्कट ब्राउनको कार्यकाललाई एक कार्यकाल मान्ने गरिएको छ तर त्यसरीनै बिभिन्न कारणले खाली भएको सिटमा राज्यको नियम अनुसार मनोनित गरिएको कार्यकाललाई चाँही एक या पूर्ण कार्यकाल मानेको पाईंदैन|

यी र यस्ता अमेरिकी नजिर हाम्रो आईसीसीको हकमा लागु नहुन सक्छ त्यस अर्थमा यो अनुत्तरित अनि अहम सवालको अन्तिम बैधानिक ब्याख्या र आदेश अन्तराष्ट्रिय समन्वय परिषदबाट आउनु पर्छ भन्ने मेरो निजि विचार र जिकिर छ|

तस्विर सिर्जना: बिमल नेपाल, बोस्टन