/ आत्म समिक्षा / भेटें मैले भगवान – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

भेटें मैले भगवान – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

Shailesh Shrestha on December 13, 2018 - 5:02 pm in आत्म समिक्षा

गीत-संगीतले पानी पारेको, गायक कलाकारले गीत गाउँदागाउँदै झ्यालको सिसा फुटाएको कुरा किमार्थ किम्बदन्तीहरु होइनन । त्यस्तो सामर्थ्य, शक्ति अनि ताकत संगीतमा छ तर त्यसको प्राप्ति लालचबाट चाँही सम्भब हुन्न बरु लामो त्याग, तपस्या, आराधना अनि निरन्तर स्वराभ्यासको जरुरत पर्दछ ।
Shailesh Announcing
मेरो लागि त “गीत-संगीत” नै मन्दीर, गुम्बा, चर्च, मस्जीद, सेनेगाग हो अनि भगवान, ईश्वर, अल्लाह, प्रभु-जिजस भनिएकाहरु मेरै वर्तमान अर्थात यही जीवन अनि दैनन्दिनीमा भेटिएका, देखिएका अनि भोगिएका जिउँदा मान्छेहरुनै हुन । जिउँदा मान्छेहरुको सानो गल्ति, छल, कपट या लालचले उब्जिएका समस्याहरुसंग भागेर नभेटिएका अनि कसैले नदेखेका “अदृश्य शक्ति” को शरणमा जाने चाहना मेरो पटक्कै छैन बरु यही मान्छेहरुकै लागि सकेको कर्म गर्छु । गीत-संगीतमा चुर्लुम्म डुब्दा अनि निर्लिप्त हराउँदा त्यो कल्पना गरिएको स्वर्ग त म यहीं पो भेट्छु । अनि म किन भौंतारिऔं यतै पाईने स्वर्गानुभुतीलाई खोज्न निर्जीव ढोंगहरुमा रुपान्तरित हुँदै?

नेपाली अमेरिकन कलाकार संघका भाई-बहिनीहरुले “श्रष्टा सम्झना सम्मान साँझ” को उद्घोषणको बोझिलो, गरुङ्गो तर गर्विलो जिम्मेवारी दिएको दिनदेखि भुईतल्लामा कहींकतै पोको पारेर राखेका क्यासेट अनि सीडी निकालेर हप्तौं अजर-अमर कालजयी गीत-संगीतहरु निरन्तर श्रवण गरें । सम्झना र सम्मान गरिएका तिनै १९ जना सर्जकहरुलाई मात्र सुनिन बरु पूर्वीय शास्त्रीय गीत-संगीतको मूलजरो खोज्न र बुझ्न भारत-बर्षका महान हस्तीहरुको गीत अनि संगीत पनि निरन्तर सुनें ।
DSC_0049
आज केही घण्टा घर बस्न पाएको मौकाको सदुपयोग गर्दै पोको पारेर थन्क्याईएका मेरा र मेरा बुबाका जमानाका थप क्यासेट/सीडीहरुलाई मायाले सुम्सुम्याएं अनि पुछपाछ गरें र दिनभर सुनें । त्यसो गरिरहँदा मैले गीत-संगीतको आराधना गरिरहेको अनन्त: अनुभूत गरें ।
अल्टाई-पल्टाई पुछ्दै थिएँ मेरी छोरी आएर रुचिपूर्वक हेर्दै भनि “वाउ, यो त चकलेट जस्तो पो देखिँदो रहेछ ।” उनलाई त्यो क्यासेटहरुको साईज चकलेट जस्तो पो लागेछ! त्यही मौका छोपेर उहिल्यै रेडियो नेपालमा “गुडनाईट एफ.एम.” संचालन गर्दा पुरानो प्रबिधिको “स्पूल” मा गीत भरेर प्रशारण गर्ने गरको मेरो बिगत पनि मेरी छोरीलाई सुनाई हालें । सायद “पंचकन्या संगीत सौगात” को प्रशारणमा पनि त्यही प्रबिधिको प्रयोग हुन्थ्यो होला ।

आफु कार्यक्रम उद्घोषक मात्र भएकोले त्यो चाँही थाहा भएन । श्रोता सर्वेक्षणमा लोकप्रिय मानिएको त्यो कार्यक्रम मीरा आचार्य भाउजु (जो हामीसंग हुनुहुन्न), पुनम पौडेल बैनी र म भएर संचालन गर्थ्यौं । रेडियोमा बोल्ने रहरैरहरले सपना बोक्दै रेडियो नेपाल नापीरहेको बेला रेडियोका कुशल उद्घोषकको त्यहिनै बेला उम्दा परिचय अनि पहिचान बनाईसकेका हरिशरण लामिछानेले त्यो अवसर उपलब्ध गराउनु भएको थियो । अमेरिका आउनु अघि मेरो “स्वर” राम्ररीनै बिक्थ्यो । ब्यबसायिक जिङ्गल स्वराङ्कन राम्रै आम्दानीको श्रोत थियो | लामो धाराबाहिक टेलीचलचित्र अनील पाण्डे निर्देशित “सुरुची” र अनिश कोइराला निर्देशित “अन्जली” को छायांकन चलिरहेको थियो ।

राती दस बजेदेखि बाह्र बजेसम्म प्रशारण हुने गुडनाईट एफएमको संचालनमा अग्रज दाई राजेन्द्र सलभको अभिभावकत्व पाउनु चानचुने कुरा थिएन । दशकौंपछि गीत-संगीत अनि उद्घोषणमा फर्किएको यो बेला मेरो महात्वाकाँक्षाका आरम्भिक दिनहरुमा मलाई त्यस्तो अवसर (ब्रेक) दिने आदरणीय शम्भुजीत बास्कोटा दाई र हरिशरण लामिछानेलाई बिशेषरुपमै सम्झन चाहन्छु भलै मैले गायक बन्ने सपना तपसिलका कारणहरुले पुरा गर्न सकिन तथापी गीत-संगीतको प्रसंगमा मेरा गुरु शिला बहादुर मोक्तान, कुन्ती मोक्तान दिदी र मेरा स्नेही दुई भान्जीहरु शितल र सुभानीलाई स्मरण नगरी बुनिने अनि भनिने सबै मेरा कथानक अधुरो मात्र होइन अपुरो नै हुन्छ ।

Comments

comments

Comments are closed.